काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले मर्जर प्रक्रियामा सम्झौता गरेका सिर्जना फाइनान्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर कारोबार बिहीबारदेखि रोक्का गरेको छ ।

नेप्सेले बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बनधी विनियमावली २०७३ को विनियम ६(१) बमोजिम दुवै संस्थाको सेयर कारोबार रोक्का गरेको हो । 

सनराइज बैंकले सिर्जना फाइनान्स लिमीटेडलाई प्राप्ति(अक्वायर) गर्ने भएको छ । बैंक र सिर्जना फाइनान्सबीच गाभ्ने/गाभिने विषयमा बुधबार सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारणसभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयरबापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिइने बताइएको छ ।

सनराइज बैंक लिमीटेड नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त गरी देशभर १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको बैंक हो भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधान कार्यालय रही मोरङ्ग, सुनसरी र सप्तरी गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।

गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब रु. ८५ अर्ब, कर्जा लगानी करिब रु.७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशः करिब ७ अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ ।

प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा व्यापक बढोत्तरी हुने दाबी गरिएको छ ।

यसैगरी महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरमा जाने सम्झौता भएको छ ।

सम्झौतापत्रमा महुली लघुवित्तका अध्यक्ष प्रभुनारायण चौधरी र नवकिरण लघुवित्तका मोहनहरि आचार्यले हस्ताक्षर गरेका हुन् । मर्जर प्रक्रिया टुंगोमा पुर्याउन दुवै संस्थाले भानुभक्त निरौलाको संयोजकत्वमा संयुक्त मर्जर समितिसमेत बनाएका छन् । संयुक्त मर्जर समितिको सचिवालय महुली लघुवित्तको केन्द्रीय कार्यालयमा रहने सहमति भएको छ ।

सम्झौतपत्रमा दुवै लघुवित्त आपसमा गाभिएपछि बन्ने संस्थाको नाम महुली लघुवित्त वित्तीय संस्था राखिने र केन्द्रीय कार्यालय हाल महुलीको केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुलीमै रहने उल्लेख छ ।

त्यस्तै मर्जरपछि हाल नवकिरण लघुवित्तको केन्द्रीय कार्यालय रहेको काभ्रेको धुलिखेलस्थित कार्यालयलाई भने बागमती प्रदेश कार्यालय बनाइने सहमति भएको छ।

मर्जर प्रक्रिया आउँदो वैशाखभित्र पूरा गरिसक्ने सहमति दुवै संस्थाले गरेका छन् । मर्जरपछि दुवै संस्थाका कर्मचारीको व्यवस्थापनको हकमा हाल खाईपाई आएको तलबभत्ता नघट्ने गरी क्षमता र योग्यताका आधारमा समान पद वा पद कम गरी समायोजन गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

मर्जरका लागि डीडीए तयार गरिने र संयुक्त मर्जर समितिले सेयर स्वाप अनुपात १००ः९५ कायम गर्ने सहमति पनि भएको छ । यसको अर्थ नवकिरण लघुवित्तको १०० कित्ता सेयर रहेकाहरुले मर्जरपछि बन्ने महुली लघुवित्तको ९५ कित्ता सेयर पाउनेछन् ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र वित्तीय संस्था महुली लघुवित्तका १५ जिल्ला र नवकिरण भने राष्ट्रस्तरको कार्यक्षेत्र बनाई सेवा प्रवाह गरिरहेको छ ।