काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपयुक्त मर्जर पार्टनर खोजी मौद्रिक नीतिअघि नै सहमति गरिसक्न निर्देशन दिएपछि बैंकिंग क्षेत्रमा मर्जरको लहर चलेको छ । 

यो क्रममा शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक र जनता बैंक, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको छ । 

कुरा मिलिसकेका बैंकहरु धमाधम एमओयू गरिरहेका छन् भने कतिपय बैंकहरु भने कुरा मिलाउन लगातार छलफल र बैठक गरिरहेका छन् । 

यही क्रममा प्रभू बैंक लिमीटेड र सांग्रीला डेभलपमेन्ट बैंकबीच पनि छलफल तीव्र भएको स्रोतहरुले जनाएका छन् । 

हालसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको र प्रभूले सांग्रीलालाई उठाउनसक्ने प्रवल संभावना देखिएको स्रोतहरुको दाबी छ । 
यी दुई बैंकबीच सेयर स्वाप अनुपातमा कुरा मिल्न सकिरहेको छैन । 

यसैगरी, लुम्बिनी विकास बैंक र देवः विकास बैंक समेत मर्जरको छलफलमा जुटेका छन् । यी दुई राष्ट्रिस्तरका विकास बैंकबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्ज हुने विषय निकै अगाडि बढिसकेको लुम्बिनीस्थित स्रोतले जानकारी दिएको छ । ‘अर्को साताभित्र यी दुई बैंकबीच मर्जरको सम्झौता हुनसक्छ ।’–स्रोतले भन्यो ।