काठमाण्डौ । आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा गभर्नरको ‘बिग मर्जर’ सपनालाई काउण्टर दिंदै बोलेका बैंकर शोभनदेव पन्तले नेतृत्व हाँकिरहेको बैंक अफ काठमाण्डू(बीओके) पनि मर्जर प्रतिबद्धतासहित केन्द्रीय बैंक पुगेको छ। 

औपचारिक समारोहमा मर्जर नीतिको कटू आलोचकको रुपमा प्रस्तुत भएका पन्त नेतृत्वको बैंकले नियामकसमक्ष मर्जरका लागि लिखित प्रतिबद्धता पठाएको विषय रोचक संयोग मात्र नबन्न सक्छ । 

बीओकेसहित असार २६ गते प्रभू बैंक पनि मर्जरको लिखित प्रतिबद्धतासहित राष्ट्रबैंक पुगेको छ । 

यी दुई बैंकसहित राष्ट्रबैंकले आगामी मौद्रिक नीतिबाट लिने भनिएको मर्जरको नीतिप्रति लिखित प्रतिबद्धता जनाउने वाणिज्य बैंकहरुको संख्या २२ पुगेको छ । 

हालसम्म विदेशी लगानीका नेपाल बंगलादेश बैंक, नेपाल एसबीआई बैंकले मर्जरका लागि प्रतिबद्धता पठाइसकेका छन् । 

स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने मर्जर नीतिप्रति असहमति जनाउँदै विगतमा झै राष्टबैंकको नीतिअनुसार आफूहरु अगाडि बढ्न नसक्ने बताएको छ । 

भारतको पञ्जाब नेशनल बैंकको लगानी रहेको एभरेष्ट बैंकले अझैसम्म पनि मर्जरका लागि प्रतिबद्धता पठाइसकेको छैन । 

नेपाल राष्टबैंकले मौद्रिक नीतिअघि मर्जर प्रतिबद्धता पठाइसक्ने सुविधा दिएका कारण पनि कतिपय बैंकले पत्र पठाउन ढिलाई गरेका हुन् । 

नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यसअघि मौद्रिक नीति असार २७ गते सार्वजनिक हुने भनेका थिए । तर, राष्ट्रबैंकको संचालक समिति सदस्य रहेका अर्थसचिव राजन खनाल विदेश गएका कारण, गाडी कर्जाको विषयमा अर्थमन्त्रीको प्रष्ट धारणा राष्ट्रबैंकले बुझ्न नसकेको र बिग मर्जरको नीति फिर्ता लिन भन्दै विभिन्न स्वार्थ समूहबाट गभर्नरलाई दवाब आएका जस्ता कारणले मौद्रिक नीति छिटोमा साउन साताका लागि धकेलिइसकेको छ । 

असार २७ गतेसम्म विकास बैंकहरुमध्ये ३ वटाले मात्र मर्जरका लागि प्रतिबद्धता पठाएका छन् वा मर्जर सम्झौता गरेका छन् ।