काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्र्नर डा. चिरञ्जिवी नेपालले मर्जर र एक्वीजिसन गर्दा कल्चर मिल्न गाह्रो भन्दै अनावश्यक बखेडा नझिक्न बैंकरहरुलाई चेतावनी दिएका छन् । 

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत वित्तीय कारोबार सुरुवात गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले यस्तो चेतावनी दिएका हुन् । 

आगामी मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाहरुलाई मजबुत, ठूलो र युगअनुकुल बनाउनका लागि मर्जर तथा एक्वीजिसनको नीति आउन लागेको उल्लेख गर्दै यो विषयमा भ्रम छरेर बखेडा झिक्ने काम हुन थालेको दाबी गरेका हुन् । 

‘मर्जर र एक्वीजिसनमा कल्चरल मिक्सअपमा समस्या छ, यो छ, ऊ छ भन्न थालिएको छ । कुन कल्चर मिल्न गाह्रो भो ? हामी नेपालीको एउटै कल्चर होइन ?’ प्रश्न गर्दै उनले भने–‘कुनै गाह्रो छैन । बेकारको बखेडा निकाल्न बन्द गरौं ।’

उनले गत ३–४ वर्षको अवधिमा धेरै बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भएका उदाहरण दिंदै नेपालजस्तो सानो देशमा मर्जरमा जाँदा कुनै समस्या नआउने जिकिर समेत गरे । ‘८९ वटा विकास बैंक मर्ज भएर २३ वटामा झरेका छन्, कहाँ आयो समस्या ?’ उनले भने–‘यी बेकारको कुरा गर्न छाडेर राष्ट्रबैंकले ल्याउन लागेको मर्जर नीतिलाई तपाई(बैंकर)हरुले समेत साथ दिनुहोस् ।’ 

विगतमा बैंकहरु आपसमा मर्ज भई ठूलो संस्था बनेका र मर्जरपछि मजबुत बनेका बैंकहरुलाई जति नै ठूलो आँधीहुरी आए पनि नछुने ठोकुवा गर्दै गभर्नर नेपालले भने–‘ मर्जर भएर ठूला भएका संस्थाहरु सबै कुरामा सक्षम हुन थालेका छन् । सुशासनमा समेत तीव्र सुधार भएको छ ।’

उनले कुनै व्यक्तिको सनकको भरमा नभई समय र परिस्थितिसँगै आउने नयाँ खालका चुनौति सामना गर्नसक्ने बनाउनका लागि समेत बैंकहरुबीच मर्जरको आवश्यकता रहेकोमा जोड दिए । विश्वव्यापी बैंकिङमा फाइनान्सियल टेक्नोलोजी मुख्य चुनौति र समस्या बनेर देखा परेको उल्लेख गर्दै उनले भने–‘हामीलाई झनै ठूलो चुनौति छ । उदाहरणका लागि अहिले १० वटा बैंकले फिनटेकमा ५० करोड खर्च गरिरहेका होलान् रे । ती १० वटै बैंक एक भए भने फिनटेकमा हुने खर्च त बढीमा १ अर्बमै हुने भयो नि । त्यसकारण मर्जरले चुनौतिको सामनासँगै भइरहेका अनावश्यक खर्च समेत ह्वात्तै घटाइदिन्छ ।’

वित्तीय स्थायीत्वलाई मजबुत बनाउने, फिनटेकलाई राम्रोसँग समाहित गरी बैंकलाई आधुनिकीकरणतर्फ लैजाने, वित्तीय साक्षरता राम्रो बढाउँदै लगेर ग्रास रुटसम्म आर्थिक क्रियाकलाप बढाउँदै लैजाने उद्देश्यले मर्जरको नीति ल्याइन लागेको प्रष्ट्याए । ‘धेरै संस्था आपसमा मर्ज भएपछि कस्ट पनि कम हुन्छ, टेक्नोलोजीलाई सस्तो दरमा प्रयोग गर्न पनि सकिन्छ ।’ उनले थपे ।

संचालकलाई थर्काए
गभर्नर डा. नेपालले बैंकमा लगानी गर्ने संचालकहरुलाई सोमबार पनि थर्काएका छन् । नाफा कमाउने उद्देश्य रहेको भए बैंक छाडेर व्यापार÷व्यवसायमा लगानी गर्न उनले आग्रह गरे । ‘तपाई संचालकहरुले ८–१० प्रतिशत लगानी गरेर बैंक खोल्नुभयो । राष्ट्रबैंकले पनि जनताको पैसा जति सक्नुहुन्छ उठाउनुहोस् भनेर तपाईलाई लाइसेन्स दियो ।’ उनले भने–‘तर उठाएको पैसा सही क्षेत्रमा लगानी भएन । देश विकासका लागि सहयोग भएन । यहाँ त संचालकहरुले बैंकमा जम्मा जनताको पैसा आफ्नो घरको सम्पत्ति जस्तो ठान्नुभयो, यो गलत हो ।’  

उनले धेरै नाफा कमाउन भन्दै सीइओ लगायतका कर्मचारीलाई अनावश्यक दवाब नदिन समेत संचालकहरुलाई निर्देशन दिए । 

‘बैंकमा लगानी गरेर कमाई हुन्न, कसैको कमाउने उद्देश्य छ भने बैक छाड्नुहोस्, व्यापार थाल्नुहोस् ।’ उनले भने–‘बैंक डूब्यो भने कसले जिम्मा लिने ? जनताको पैसा बैंकमा छ, जनताले विश्वास गरेर बैंकमा पैसा राखेको हो । राष्ट्रबैंकले लाइसेन्स दिएको छ, यहाँ असल मान्छे छन्, दुरुपयोग हुँदैन भनेर जनताले पैसा जम्मा गरेका हुन् । संसारमै बैंकको लगानी जनताको सम्पत्ति हो, यसमा मनलागी गर्न पाइन्न ।’

उनले पटक–पटक आफ्नो व्यापार–व्यवसाय गरेर कमाउन, तर बैंकमा लगानी गरेर कमाउने विषयमा नसोच्न समेत आग्रह गरे । 

उनले बैंकको संचालक भएर पैसाको दुरुपयोग गरिसकेपछि मैले त जानिँन, पढेको छैन भन्न नपाइने उल्लेख गर्दै भने–‘जनताको पैसा चलाउने ठाउँमा बसेर म त ल्याप्चे हुँ भन्न पाइन्न । ल्याप्चे मात्रै हो भने चामल र नून साट्नुहोस्, बैंक चलाउने होइन ।’