काठमाण्डौ । मौद्रिक नीतिमार्फत मर्जरको विषयमा नरम नीति आएसँगै ठूला बैंकहरुले राष्ट्रबैंकमा मर्जर प्रतिबद्धता पठाउने क्रम बन्द गरेका छन् । 

मर्जरका लागि तयारी गरिरहेका र संभावित पार्टनरहरुसँग छलफलमा सहभागी भइरहेका बैंक तथा वित्तीय संस्थाहरु समेत नरम मर्जर नीतिपछि निस्क्रिय जस्तै भएका छन् । 

नेपाल राष्ट्रबैंकमा असार २६ गते भन्दा पछाडि कुनै पनि बैंकले मर्जरको प्रतिबद्धता पठाएका छैनन् । 

सो मितिसम्म २२ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंकले मात्र मर्जर प्रतिबद्धता पठाएका नेपाल राष्ट्रबैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनका अनुसार नवील र एभरेष्ट बैंकले कुनै पनि प्रतिबद्धता पठाएनन् । मौद्रिक नीतिपछि मात्र मर्जर रणनीति बनाउने भन्दै यी बैंकहरु चूपचाप बसेका थिए । 

मौद्रिक नीति आएपछि पनि यी बैंकहरुले मर्जरको विषयमा कुनै प्रतिबद्धता राष्ट्रबैंक नपठाएका प्रवक्ता निरौलाले जानकारी दिए । 

बैंकिङ क्षेत्रका विश्लेषकहरुले मौद्रिक नीति अगाडि गभर्नर डा. चिरञ्जिवी नेपालले जुन गतिमा मर्जरको विषयलाई अगाडि बढाएका थिए, मौद्रिक नीतिमा त्यो स्पिरिट कायम गर्न नसक्दा मर्जर प्रक्रियामा जाने मन गरेका बैंक तथा वित्तीय संस्था समेत रोकिएका र मौद्रिक नीतिमा आएको इन्सेन्टिभले समेत अपेक्षित रुपमा बैंकहरुलाई मर्जरमा लैजान नसक्ने दाबी गर्न थालेका छन् । 

मौद्रिक नीतिमा आएको नरम मर्जर नीति र कमजोर सहुलियतको व्यवस्थाका कारण राष्ट्रबैंककै गरिमामा समेत क्षय भएको मान्नेहरु पनि छन् ।