काठमाण्डौ । मर्जको सम्झौता गरी अगाडि बढेका मिसन डेभलपमेन्ट बैंक र तिनाउ डेभलपमेन्ट बैंकले बुधबार एकैदिन पारेर चालु आर्थिक  वर्षको तेश्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । 

दुवै बैंक मर्जरको सम्झौतापछि सो प्रक्रिया सफल बनाउन अहिले सक्रियतापूर्वक लागिरहेका बैंक हुन् । 

रुपन्देहीमा रहेका दुवै बैंकको प्रगति औसत देखिएको छ । 

मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६ करोड ४६ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १५ प्रतिशत बढी हो । 

यो कम्पनीले समीक्षा अवधिमा १० करोड १५ लाख संचालन मुनाफा आर्जन गरेको छ, यो भने गत वर्षको भन्दा १५ प्रतिशतले नै बढी हो । 

अघिल्लो वर्ष १२ करोड ८४ लाखमा सीमित खूद ब्याज आम्दानी २३.२४ प्रतिशतले बढाएर १५ करोड ८२ लाखको उचाईमा पुर्याएको यो बैंकको रिजर्ब भने ९ करोड ८७ लाखबाट बढेर १२ करोड ७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा मिसनले ४ अर्ब ८८ करोड निक्षेप संकलन गरी ४ अर्ब ३४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ३७.२७  प्रतिशतले बढेको हो भने कर्जा ३५.०८ प्रतिशतले बढेको हो । 

यो बैंकमा ०.३७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा भने बढेर ०.४३ प्रतिशतको उचाईमा पुगेको छ । १४.४३ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १४.९६ रुपैयाँको उचाईमा पुगेको छ । 

प्रतिसेयर नेटवर्थ १२०.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.८३ गुणा कायम भएको छ । 

यसैगरी, तिनाउ डेभलपमेन्ट बैंकले खूद नाफातर्फ १३.३७ प्रतिशतको प्रगति गरी ५ करोड ३८ बाट बढाएर ६ करोड १० लाखको उचाई चुमाएको छ । 
अघिल्लो वर्ष ७ करोड १५ लाखमा सीमित संचालन मुनाफा बढेर ८ करोड २८ लाख पुगेको छ भने १२ करोड १ लाखमा सीमित खुद ब्याज आम्दानी १४ करोड ५० लाखको उचाईमा पुगेको छ । 

समीक्षा  अवधिमा यो बैंकले ५ अर्ब ३१ करोड निक्षेप संकलन गरी ४ अर्ब ५७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब ४८ करोड निक्षेप संकलन गरी ३ अर्ब ७९ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष १२ करोड ९७ लाखमा सीमित रिजर्बको आकार बढाई १३ करोड ९९ लाख पुर्याएको बैंकको ०.३७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.३८ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष १४.१७ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १४.३५ रुपैयाँको उचाईमा पुगेको छ । 

यस्तै, प्रतिसेयर नेटवर्थ १२४.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५७ गुणा कायम भएको छ ।