काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन असोज मसान्तभित्र घटाउने तयारी थालेको छ । 

बोर्डका अध्यक्ष डा.भीष्मराज ढुंगानाले ब्रोकर कमिसन असोज मसान्तदेखि लागू हुने गरी घटाउने तयारी भइरहेको जानकारी दिए । 

बोर्डसँग सम्बन्धित विविध कार्यहरुमा व्यस्तताका कारण ब्रोकर कमिसन घटाउने विषय थाँती रहे पनि अब सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरी निश्चित प्रतिशत घटाउने उनले बताए । ब्रोकर कमिसनका विषयमा आगामी दिनमा कुनै विवाद सिर्जना नहोस् भनी लगानीकर्ता र ब्रोकरसँग छलफल गरेपछि मात्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गर्ने पनि उनको भनाइ छ ।

करिब १ महिनाअघि नै ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाइसकेको र सरोकारवाला पक्षसँग छलफल गरी कमिसन पुनरावलोकन गरिने ढुंगानाले यसअघि नै बताइसकेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको अनलाइन कारोबार प्रणाली र सेयर कारोबार पूर्णतया विद्युतीय माध्यमद्वारा हुन थालेपछि स्टक ब्रोकरहरुको लागत घटेको तर्क गर्दै ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुले निरन्तर दवाब सिर्जना गरिरहेका छन् ।

हाल नेप्सेमा सूचीकृत संगठित संस्थाको सेयरको प्रत्येक खरिदबिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)लाई ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म तिर्नु पर्दछ । यसैगरी ब्रोकरले ग्राहकबाट पाउने सेवाशुल्क रु. २५ भन्दा घटी छैन ।