काठमाण्डौ । पेट्रोलियम पदार्थको लगातारको मूल्यवृद्धि तथा अनियन्त्रित कालोबजारीका कारण पछिल्लो समय महङ्गी बढ्दै गएको सर्वसाधारणको गुनासो सुनिन्छ । अझ आम उपभोक्ताहरु त सरकारले दैनिक खाद्य वस्तुको मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न चासो नदिंदा महङ्गीको मार खेप्नु परेको गुनासो गरिरहेका छन् । वास्तविकता चाहि के होला त ? के महंगी बढेकै हो ? 

नेपाल राष्ट्रबैंकले २०७४ चैत महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फिति ५.३ प्रतिशत पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फिति ३.८ प्रतिशत थियो । खाद्य मुद्रास्फितिमा  आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फिति बढेको केन्द्रीय बैंकको निश्कर्ष छ ।

तरकारी तथा अन्य खाद्य पदार्थको मूल्यमा भएको छिटफुट वृद्धिका कारण उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा केही उच्च रहन गएको हो । तथापि, आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने वार्षिक प्रक्षेपणभन्दा कम नै रहने केन्द्रीय बैंकको दाबी छ । 

खाद्य मुद्रास्फीति 
२०७४ चैत मसान्तमा खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो। गत वर्षको तुलनामा मुलतः तरकारी, फलफूलजन्य वस्तुहरु र दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर-खाद्य मुद्रास्फीति 
समीक्षा अवधिमा गैर-खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर-खाद्य मुद्रास्फीति कम हुन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ७.० प्रतिशत, पहाडमा ६.० प्रतिशत, तराईमा ५.७ प्रतिशत र काठमाडौं उपत्यकामा ४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा २.८ प्रतिशत, पहाडमा ५.६ प्रतिशत, तराईमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.७ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति 
२०७४ चैत मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर २.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.२ प्रतिशत रहेको थियो । खासगरी, आयातित वस्तुहरु तथा देश भित्र उत्पादन भएको वस्तुहरुमा भएको मूल्य वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।