काठमाण्डौ । उपभोक्ता मुद्रास्फिति दर एकाएक बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म ४.४ प्रतिशतमा सीमित वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति बैशाख मसान्तसम्ममा बढेर ५.३ प्रतिशत पुगेको हो । 

यसरी हेर्दा एक महिनामै २०.४५ प्रतिशतले महङ्गी बढेको छ । 

मुद्रास्फितिको यो दर अघिल्लो वर्षको यही अवधिको तुलनामा पनि बढी हो । अघिल्लो वर्ष यही अवधिमा यस्तो दर ४.१ प्रतिशतमा सीमित थियो । 
२०७६ बैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो ।

चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४ प्रतिशत रहेकोमा बैशाखमा बढेर  ५.२ प्रतिशत पुगेको छ । 

बैशाख महिनामा हिमालमा ६.१ प्रतिशत, काठमाडौं उपत्यकामा ६.०५ प्रतिशत, पहाडमा ५.० प्रतिशत र तराईमा ४.९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.३ प्रतिशत, ३.३ प्रतिशत, ५.७ प्रतिशत र ४.० प्रतिशत रहेको थियो ।

चैतमा भने उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ ।

चैत महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत तथा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४ प्रतिशत रहेको थियो । 

बैशाख महिनामै भारतीय निर्वाचनका कारण विभिन्न सीमावर्ती नाकामा कडाई गरिएका कारण महंगी बढेको अनुमान गरिएको छ ।