काठमाण्डौ । देशमा मुद्रा स्फिति बढ्न थालेको छ । 

नेपाल राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो । 

चालु आर्थिक वर्षको सात महिनामा अर्थात माघ मसान्तसम्मको वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ । सात महिनाको औसत मुद्रास्फीति ६.४७ प्रतिशत छ । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।

यस्तै, ६ महिनासम्मको वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८२ प्रतिशत र ६ महिनाको औसत मुद्रास्फीति ६.४१ प्रतिशत थियो । ६ महिनाको भन्दा ७ महिनाको मुद्रास्फिति बढेको देखिएको हो । 

यस्तै, रेमिट्यान्स समेत पछिल्लो समय घट्न थालेको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटी रु.५१३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो ।

चालु आबको ६ महिनासम्ममा भने विप्रेषण आप्रवाह ०.९ प्रतिशतले बृद्धि भई रु.४४७ अर्ब २६ करोड पुगेको थियो । ६ महिनासम्ममा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १७.७ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा आयात ३.६ प्रतिशतले घटेको छ भने निर्यात २२.४ प्रतिशतले बढेको छ ।