काठमाण्डौ । सेयर लगानीकर्ताहरुबाट निर्मम ढंगले कुटिएका बजार विश्लेषक विष्णुप्रसाद बस्यालले आफूमाथि आगामी दिनमा आक्रमण दोहोरिनसक्ने भन्दै प्रहरीसँग शान्ति सुरक्षा मागेका छन् । 

मंसिर १२ गते बुधबार महानगरी प्रहरी वृत्त, अनामनगरमा ठाडो उजुरी दिंदै उनले शान्ति सुरक्षा मागेका हुन् । 

मंसिर १० गते नेप्सेमा लगानीकर्ता संघसंस्थाले आह्वान गरेको कार्यक्रममा सहभागी भएको बेला केही व्यक्तिहरुको समूहदारा ममाथि सुनियोजित ढंगले शारिरीक क्षति पुर्याउने उद्देश्यले आक्रमण भएको हुँदा आगामी दिनहरुमा पनि ममाथि यसप्रकारणको आक्रामक गतिविधिहरु हुनसक्ने देखिएको हुँदा निज व्यक्तिहरुको पहिचान गरी उचित कानूनी कारबाही गरिपाऊँ । बस्यालले पेश गरेको उजुरीमा भनिएको छ । 

उनले आगामी दिनमा समेत आफूमाथि आक्रमण हुनसक्ने भन्दै शान्ति सुरक्षाको प्रत्याभूति समेत मागेका छन् । 

निवेदनको साथमा मंसिर १० गते सोमबार भएको घटनाको बिजशालाले प्रकाशित गरेको भिडियो टेप समेत उनले पेश गरेका निवेदनमा उल्लेख छ ।