काठमाण्डौ । संभावित जोखिम व्यवस्थापनबाट ७० करोड बढी फिर्ता ल्याएको महालक्ष्मी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ५६ करोड ११ लाख खूद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

नाफाको हिसाबले यो बैंकले कतिपय वाणिज्य बैंकलाई समेत टक्कर दिने देखिन्छ । अघिल्लो वर्ष यही अवधिमा महालक्ष्मी विकास बैंकको खूद नाफा ४४ करोड ४२ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ७ करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७७ करोड ९८ लाखमा सीमित थियो । 

तर, यो बैंकको संचालन मुनाफामा भने संकुचन आएको छ । अघिल्लो वर्ष १२ करोड ८७ लाख रहेको यस्तो मुनाफा घटेर १० करोडमा सीमित भएको हो । 

अघिल्लो वर्ष ११ करोड ११ लाख रहेको कर्मचारी खर्च अचाक्ली बढेर २७ करोड ५८ लाखको उचाईमा पुगेको छ । १४ करोड १४ लाखमा सीमित अन्य संचालन खर्च पनि बढेर २४ करोड ९६ लाखमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकल २७ अर्ब २७ करोड निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष २५ अर्ब १३ करोड निक्षेप संकलन गरी २० अर्ब ७२ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष १ अर्ब ९ करोडमा सीमित रिजर्बका आकार बढाई १ अर्ब ४३ करोडको उचाईमा पुर्याएको बैंकले खराब कर्जा भने घटाउन सकेन ।

यहीकारण अघिल्लो वर्ष ३.६३ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा बढेर ३.८८ प्रतिशत पुगेको छ । 

नाफामा भएको सामान्य वृद्धि र अचाक्ली खर्चका कारण यो बैंकले प्रतिसेयर आम्दानीलाई पनि नियन्त्रणमा राख्न सकेको देखिएन । फलस्वरुप, अघिल्लो वर्ष यही अवधिमा २७.८४ रुपैयाँ रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा २१.३१ रुपैयाँ कायम हुन पुगेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.३० रुपैयाँ रहेको छ।