काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रा. लि.सँग भदौ २६ गते एक सम्झौता गरेको छ । 
 
सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा ५ देखि ३० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । 
 
प्याथोलोजी, रेडियोलोजी (सिटी÷एम.आर.आई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । 
 
नर्भिक वार्षिक हेल्थ प्याकेजमा ३० प्रतिशतसम्मको छुट र बेड चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
 
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले उक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।
 
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, बैंकका कर्मचारी लगायत कर्मचारीका परिवार(बाबु–आमा, श्रीमान–श्रीमती, तथा दुई सन्तान)ले नर्भिक इन्टरनेशनल हस्पिटलमा उल्लिखित छुट प्राप्त गर्न सक्ने बताइएको छ। 
देशका ७५ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमीटेडले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।