काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरेको छ । 

बैंकको भैरहवा शाखाले पुस १७ गते सिद्घार्थनगर, रुपन्देहीस्थित बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि एक कार्यक्रम आयोजना गरी २ थान कम्प्युटर, २०० वटा ऊनीको टोपी तथा १ थान वाटर डिस्पेन्सर सहयोग स्वरुप प्रदान गरेको छ ।

प्रदेश नं ५ का प्रदेश सभा सदस्य सन्तोष पाण्डेको प्रमुखआतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिद्वय बैंकका सञ्चालक राहुल अग्रवाल र बहिरा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खिमलाल पुरी रहेका थिए । 

कार्यक्रममा मन्तव्य दिँदै खिमलाल पुरीले बैंकप्रति कृतज्ञता व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए । 

बैंकको खुरखुरे शाखाले गत मंसिर २२, २०७५ मा राप्ति नगरपालिका १०, चितवनस्थित राष्ट्रिय आधारभूत विद्यालयका कक्षा १ देखि ३ मा अध्ययनरत विद्यार्थीहरुका लागि १०५ थान ऊनी स्वेटर प्रदान गरेको थियो । 

आर्थिक स्थिति निकै नै कमजोर भएका चेपाङ्ग विद्यार्थीहरुको बाहुल्यता रहेको सो विद्यालयका विद्यार्थीहरुको जाडोयाममा पठनपाठन सहज बनाउने हेतुले सहयोग गरिएको बैंकको भनाई छ । 

यसैगरी, बैंकको मंगलसेन शाखाले पुस ४ गते अछाम बहुमुखी क्याम्पस मंगलसेनमा अध्ययनरत ११ जना योग्य विद्यार्थीहरुलाई कुल तेत्तीस हजार रुपैयाँ छात्रवृतिको रुपमा प्रदान गरेको छ ।