काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको खूद नाफा घटेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष यही अवधिमा २० करोड ५४ लाख रहेको नाफा घटेर यो वर्ष १९ करोड ७६ लाखमा सीमित भएको हो । 

बैंकको संचालन नाफामा भने ४४३.१९ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ३ करोड ८० लाखमा सीमित यस्तो नाफा बढेर यो वर्ष २० करोड ६८ लाखको उचाईमा पुगेको हो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ४५ करोड ४३ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष  ६२ करोड ५८ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा महालक्ष्मी विकास बैंकले २८ अर्ब ८९ करोड निक्षेप संकलन गरी २५ अर्ब ३६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १४.९९ प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तारमा भने २१.८० प्रतिशतले बढोत्तरी गरेको छ । 

यो बैंकको रिजर्बकोष घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ३० करोड रहेको कोषको आकार घटी यो वर्ष १ अर्ब ५ करोडमा सीमित बन्न पुगेको हो ।

बैंकको खराब कर्जाको अनुपात पनि बढेको छ । अघिल्लो वर्ष ३.२९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर यो वर्ष ४.४१ प्रतिशत पुगेको हो । 
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ११ प्रतिशतले घटेर १३.९० रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३६.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.०२ गुणा कायम भएको छ ।