काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिँदै चैत २ गते बैंकको दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

“सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजित रहेको थियो ।

काठमाण्डौ महानगरपालिका वडा नं १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरु, दरबारमार्गस्थित महानगरीय प्रहरी वृतका प्रमुख विनोद घिमिरे, दरबारमार्ग विकास बोर्डका प्रतिनिधिहरु, वडा नं १ का प्रतिनिधिहरु तथा स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । 

सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणमाँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । 

बैंकले आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।