काठमाण्डौ । देशकै कान्छो जीवन बिमा कम्पनी, महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो योजनाको रुपमा ‘जीवन हेरचाह बीमा’ आगामी जेठ २६ गते आइतबारदेखि बिक्रीमा ल्याउने भएको छ । 

एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी(पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो प्रस्तुति रहेको कम्पनीको दाबी छ । 

केटाकेटी र सन्तानको सुरक्षित भविष्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक)को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई बिमाङ्क रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बिमाङ्क रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ति नभएसम्म प्रत्येक तीन÷तीन महिनामा बिमाङ्क रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता(पेन्सन)को रुपमा पाइरहने,  बाँकी अवधिका लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्तिपछि पुनः बिमाङ्क रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

साथै प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा अशक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने  र १२ वर्ष सम्म त्रैमासिक रुपमा बिमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ । 

नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्यू पछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर, महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यू पछि पनि बीमाले निरन्तरता पाइरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरिएको बताइएको छ । 

साथै प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्ति पछि बिमाङ्क र आर्जित बोनस एकमुष्ट पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

२०७५ माघ २७ बाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाइफले अहिलेसम्म ४५ जिल्लाभन्दा बढी स्थानमा तालिम र जनचेतनामूलक कार्यक्रम संचालन गरिसकेको छ भने पूर्व मेचीदेखि  महाकालीसम्म ३० वटाभन्दा बढी शाखा र उपशाखा संचालनमा ल्याइसकेको छ । आउने असारसम्म ५० स्थानमा शाखा र उपशाखा संचालनको लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।