काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुर्खेत शाखाले कात्तिक २४ गते आइतबारका दिन वीरेन्द्रनगर नगरपालिका वडानम्बर ३ मा अवस्थित हरि डिल भूमि माध्यामिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ ।

बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।

त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखाले बज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।