काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित गरिएको १७.८९ प्रतिशत लाभांश पारित गर्दै महालक्ष्मी विकास बैंकको १८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

सभामा बैंकको संचालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ९.८९% नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।

नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ प्राप्त गर्न सफल बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।