काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिसँग बुधबार एक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारलगायत बैंकका संस्थापक/सेयरधनीले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०%, उपचार प्रक्रियामा अधिकतम १५%, रोगको निदानमा अधिकतम १२% तथा औषधीमा ५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।