काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेड विराटनगर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘थालासिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थालासिमिया प्रोजेक्टलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

विश्व क्यान्सर दिवसका अवसरमा गत शनिबार श्री आदर्श मावि विराटनगरमा विराटनगर प्लाटिनिम राउन्ड टेबल–११ द्वारा आयोजित एक समारोहबीच बैंकका विराटनगर शाखा प्रबन्धक भरत खतिवडाले उक्त रकमबराबरको चेक प्रोजेक्टलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।