काठमाण्डौ। विश्व माहामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सिर्जित असहज परिस्थितिमा ग्राहकको सुविधालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यस सेवाबाट महालक्ष्मी विकास बैंकमा खाता खोल्न चाहने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन तथा खाता खोल्दा आवश्यक कागजात सजिलै पेस गर्न सकिने व्यवस्था रहेको छ। बैंकको वेबसाइट www.mahalaxmibank.com.np मार्फत महालक्ष्मी अनलाइन सेभिङ देशभर रहेका १०२ वटा शाखाबाट सजिलै खाता खोल्न सकिने बैंकले जनाएको छ। 

अनलाइन खाता खोलेपछि ग्राहकको खाता नं र आवश्यक जानकारी बैंकले फारममा उल्लेख गरेको ईमेल ठेगानामा पठाउनेछ। खाता खोल्न बैंकसम्म पुग्न नपर्ने र समयको बचतसँगै ग्राहकले घरबाट नै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। 

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई लकडाउनको नियमपालना गरी घरभित्रै बसेर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।