काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले महिलामैत्री शौचालय निर्माण गर्न रुपन्देही र चितवनका एक/एकवटा विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको भैरहवा र नारायणगढ शाखाले क्रमशः रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयलाई महिलामैत्री शौचालय निर्माणका लागि १ लाख ५० हजार रुपैयाँका दरले ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्। गत जेठ २९ गते भानु माविको प्राँगणमा सम्पन्न एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे। 

त्यसैगरी जेठ ३० गते बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे। दुवै कार्यक्रममा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति थियो। 

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०२ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।