पर्वत । नेपालका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । 

महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिला भनी दाबी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथमा डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिनुभयो । 

विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १०८ फिट अग्लो हुने गरी भगवान् शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ । 

यस्तै, शिलाको बीच भागमा सिसाको पुल निर्माण गर्ने, शिलाको शिर भागमा त्रिकोणात्मक सिसाको पुल निर्माण गर्ने, आश्रमस्थल निर्माण गर्ने, उद्यान बनाउने, योगकक्ष निर्माण गर्ने तथा ढुङ्गाको बगैँचा निर्माण गर्ने काम डिपिआरमा समावेश गरिएका उचैले जानकारी दिनुभयो । पर्यटनमार्पmत पर्वतवासीको आर्थिक समृद्धिका लागि यो योजना निकै महत्वपूर्ण हुनसक्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताउनुभयो । 

कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन रोक्ने निर्णय पर्वतको जलजला गाउँपालिकामा भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको भएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असारदेखि भदौ १५ सम्म नदीमा उत्खनन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो । 

यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको आरोप खेप्दै आएको जलजला गाउँपालिकाले यसपटक वर्षायामका तीन महीना पूर्णरुपमा उत्खनन रोक्ने निर्णय गरेको हो । 

पर्वतमा नदीजन्य पर्दाथको सबैभन्दा बढी उत्खनन हुने जलजला गाउँपालिकाभित्र असार, साउन र भदौमा नदीबाट स्काभेटर प्रयोग गरेर बढी मात्रामा बालुवा उत्खनन हुँदै आएको थियो । 

वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्न ऐन कानूनले समेत रोक लगाएका कारण यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय भएको हो गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।