काठमाण्डौ । दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बखत आइपर्ने समस्या एवं चुनौतीहरूबाट हुन सक्ने क्षति न्युनीकरणमा यस क्षेत्रका राष्ट्रहरू बीच सहकार्य गरी यस क्षेत्रका जनताको सुरक्षित व्यवस्थापन र दिगो विकासमा कार्यरत एशियन डिजास्टर प्रिपेर्डनेस सेन्टर (एपीडीसी) र नेपाल उद्योग वाणिज्य महासंघ बीच हिजो मंगलबार म्यानमारमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

एडीपीसीको मुख्यालय थाइल्याण्डको बैंककमा रहेको छ । 

मंसिर १६ र १७ गते म्यानमारमा आयोजना भएको एशियन प्रिप्यर्डनेश पार्टनरशीपको पांचौ क्षेत्रीय बैठकका क्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान र एडीपीसीका कार्यकारी निर्देशक ह्यान्स गुटम्यानले सहमतिपत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा भाग लिन उपाध्यक्ष प्रधान हाल म्यानमारको भ्रमण छन् । 
 

हरेक वर्ष दक्षिण र दक्षिण पूर्वी एशियाका राष्ट्रहरूमा बाढी, पहिरो, भूक्षय, आँधी, भूकम्पलगायतका प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुंदै आएको छ । प्राकृतिक विपत्तिबाट यस क्षेत्रका जनताहरूको जीवन रक्षा एवं प्राकृतिक विपत्ति पूर्व अपनाउनु पर्ने सुरक्षा उपायहरूमा संयुक्त रूपमा सहकार्य गर्ने उद्देश्यले यो समझदारी भएको हो । 

समझदारी अनुसार महासंघ र एडीपीसीको संयुक्त सहकार्यमा यस विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम, तालीम, कार्यशाला, गोष्ठी आयोजना, त्यसका लागि प्राविधिक सहयोग, जनशक्ति विकास, सूचना आदान प्रदान, तथ्यांक संकलन लगायतमा सहकार्य गर्ने उल्लेख गरिएको छ । यसका लागि महासंघले आफ्नो देशैभर रहेको संजालको भरपुर सहयोग लिनेछ । 

एशियन प्रिप्यर्डनेश पार्टनरशीप नाम दिइएको उक्त साझेदारी संजालमा नेपाल सहित यस क्षेत्रका राष्ट्रहरू क्याम्वोडिया, म्यानमार, फिलिपिन्स, पाकिस्तान र श्रीलंकाका बहुसरोकारवाला निकायहरूको साभेदारी सहभागीता छ । यस क्षेत्रीय साझेदारीमा यहांका स्थानीय, प्रादेशिक, संघीय सरकारहरू, राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरू, नागरिक समाज, निजी क्षेत्र, संचार माध्यम र वौद्धिक समुदायको सहभागिता रहने र विपत्तिका बखत यी सवै निकायहरूले आ–आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नेछन् । 

एशियन प्रिप्यर्डनेश पार्टनरशीपको पांचौ क्षेत्रीय बैठकलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रधानले प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणका साथै प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिका विषयमा जनचेतना अभिवृद्धि लगायतको अभियानमा क्षेत्रीय साझेदारीमा नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ पनि एक हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरे । उपाध्यक्ष प्रधानले एडीपीसीसंग भएको सहमतिलाई अक्षरशः पालना गरी क्षेत्रीय सहकार्यमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दैै प्राकृतिक विपत्ति पूर्व गर्नुपर्ने तयारीका विषयमा ती देशहरूले हासिल गरेका अनुभवबाट नेपालले समेत लाभ हासिल गर्न सक्ने विश्वास प्रकट गरे ।