काठमाण्डौ । हरियो महिना हो साउन । नेपाली महिलाहरुका लागि हरियो चुरा, पोते लगाउने मुख्य मौसम भएका कारण साउनलाई हरियो महिना मानिन्छ । यो बेला हरियो चुरापोते र कपडाको माग अत्यधिक हुन्छ र हरियोकै व्यापार चल्छ । साउन नेपाली महिलाका लागि मात्र होइन, नेपाली पूँजीबजारका लगानीकर्ताका लागि समेत हरियो महिना मानिन्छ । तर यो वर्ष हरियोमय हुनुपर्ने पूँजीबजारमा रातोको राज चलेको छ । यो साता त कारोबारको पहिलो दिनदेखि नै बजार परिसूचकहरुमा रातो पोतिएर हरियो विस्थापित भएको छ। कारोबार गुल्जार भएर हरियो पोतिनुपर्ने समयमा पूँजीबजार किन रातो भइरहेको होला ?के अब बजारमा कुनै सुधार नहोला त ?

सेयर बजार विश्लेषकहरुले १ हजार ३४ अंकबाट उकालो लागेको नेप्से परिसूचक लगातार बढेर १८८१ अंकसम्म पुगेको अवस्थामा यो साता बजार लगातार ओरालो लागिरहेको छ । 'तर जुन हिसाबले घटिरहेको छ, यो सामान्य हो ।' सेयर बजार विश्लेषक तथा लेखक रविन्द्र भट्टराईले बिजशालासँग भने-'पूँजीबजारमा १० प्रतिशतसम्मको गिरावटलाई करेक्सन मानिन्छ, त्यसकारण अहिलेको यो घटाई नियमित करेक्सनको सिलसिला मात्र हो ।' 

उनले नघटी लगातार बढेर १८८१ को उच्च विन्दूमा पुगेको नेप्सेमा हरेक दिन गिरावट देखिएपछि बजार साच्चिकै घट्ने हो कि भन्ने त्रास लगानीकर्तामा देखिए पनि यो अनावश्यक रहेको प्रष्ट्याए । 'आत्तिनुपर्ने अवस्था छैन ।' उनले थपे-'नियमित बढेको  बजार घट्दा डर हुनु स्भाविक हो, तर आगामी साताबाट बजारमा सुधार हुने देखिन्छ ।' 

'पूँजीबजारमा १० प्रतिशतसम्मको गिरावटलाई करेक्सन मानिन्छ, त्यसकारण अहिलेको यो घटाई नियमित करेक्सनको सिलसिला मात्र हो ।' 

उनका अनुसार मार्केट डेप्थको अध्ययन गर्दा बजारमा बैंकहरुको सेयरमा अत्यधिक माग देखिएको छ । तर आपूर्ति निकै कम छ । यसले समेत आगामी सातादेखि बजार फेरि उकालो लाग्ने अवस्था छ । 'बैंकहरुको सप्लाई भन्दा डिमाण्ड अधिक देखिन्छ ।' उनले भने-'जस्तो ३ हजार सप्लाई हुनेहरुको सेयरमा १६ हजारसम्म डिमाण्ड देखिन्छ । डिमाण्ड बढ्दै गएकाले आगामी आइतबारदेखि बजारमा सकारात्मक संकेत देखिन सक्छ ।' 

अन्तिम दिन झनै ठूलो पहिरो !
साताको अन्तिम कारोबार दिन बिहीबार पूँजीबजार सातामै सबैभन्दा धेरै अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ४५.१२ अंकले घटेर १७६८.६० अंकमा झरेको हो । 

प्रचण्डले सपथ खाने दिने र मन्त्री मण्डल बिस्तार हुने दिन पनि लगानीकर्तामा उत्साह देखिएन । बरु सबै समूहको परिसूचकमा रातो पोतियो । दुई समूह तेहेरो अंकले तल झरे भने बाँकी सबै समूहमा दोहोरो अंकको गिरावट देखियो । 

बिहीबार सबैभन्दा बढी बिमा समूहको परिसूचक २९९.५ अंकले घट्यो । होटल समूह पनि १०२.०३ अंकले ओरालो लाग्यो । वाणिज्य बैंक समूह ३९.९३ अंकले घट्दा विकास बैंक र बित्त समूह क्रमशः ५२.२२ र १७.६८ अंकले ओरालो लागे । जलविद्युत समूहमा ५८.७ अंकको गिरावट देखियो भने उत्पादनमूलक ५१.२७ र अन्य समूह १२.१५ अंकले घटे । 

बिहीबार सेन्सेटिभ इण्डेक्स पनि करिब दोहोरो अंक(९.८)ले घट्यो । फ्लोट इण्डेक्समा ३.३२ को गिरावट देखियो । 

प्रचण्डले सपथ खाने दिने र मन्त्री मण्डल बिस्तार हुने दिन पनि लगानीकर्तामा उत्साह देखिएन । बरु सबै समूहको परिसूचकमा रातो पोतियो । दुई समूह तेहेरो अंकले तल झरे भने बाँकी सबै समूहमा दोहोरो अंकको गिरावट देखियो । 

नेप्सेमा करेक्सन भए पनि कारोबार रकम भने बढेको छ । बिहीबार १ सय ४२ कम्पनीको कुल २७ लाख ५१ हजार कित्ता सेयर १ अर्ब ५० करोडमा किनबेच भएको हो । 

समग्र बजारमा रातो पोतिँदा समेत धेरै कारोबार वाणिज्य बैंकहरुले नै गरे । 

सबैभन्दा धेरै सिद्धार्थ बैंकले ११ करोड ९६ लाखको कारोबार गर्यो । यस्तै, नेपाल बंगलादेश बैंकले ९ करोड ८५ लाख, नेपाल बैंक लिमीटेडले ९ करोड ३३ लाख, एभरेष्ट बैंकले ५ करोड ४४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ८९ लाखको कारोबार गरे । 

यसैगरी, एनएमबी बैंकको ४ करोड ७६ लाख, प्रिमियर इन्स्योरेन्सको ३ करोड ८६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ करोड ४३ लाख, माछापुच्छे बैंकको ३ करोड २२ लाख र एनआइसी एशिया बैंकको ३ करोड १८ लाखको सेयर किनबेच भयो । धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा वाणिज्य बैंकहरुले ९ स्थान कब्जा गरे । 

बिहीबार सबैभन्दा धेरै कन्काई विकास बैंकको सेयर मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतले वृद्धि भयो । यस्तै, सिनर्जी फाइनान्सका लगानीकर्ताले समेत केही कमाए । 

सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतको गिरावट देखियो । यसैगरी, ओरिएन्टल होटल लिमीटेड, देव विकास बैंकको सेयर मूल्यमा समेत साढे ७ प्रतिशतको दरले गिरावट देखियो । प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता समेत धेरै गुमाउनेको सूचिमा परे ।