काठमाण्डौ। महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित सातौँ वार्षिक साधारणसभाको मिति पुनः तय गरिएको छ।

संस्थाको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १३ गते शनिबार मकवानपुरको चित्लाङस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो। 

यसअघि गत फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा गत चैत २२ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि संस्थाको वार्षिक साधारणसभा स्थगित हुन पुगेको थियो।  

सभामा गत आर्थिक वर्षका लागि प्रभावित कुल १७.५ प्रतिशत लाभांश पारित हुनेछ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १२ करोड १० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ९० लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले गत चैत ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको मतलब संस्थाको साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि चैत ३ गतेसम्म कायम सेयरधनी योग्य हुनेछन्।