काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा शुक्रबार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ स्थित रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा सेवा सुरु गरेको छ । 

सो शाखाको उद्घाटन रामगोपालपुर नगरपालिकाका मेयर अशोककुमार मण्डल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । 

उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिइने अध्यक्ष खड्काले दाबी गरे । 

कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराएका थिए । 

सो शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । 

हल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएममार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वालगायतका सम्पूूर्ण आधुनिक बैकिङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गराउँदै आएको छ । 

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्तापूँजी २ अर्ब ३७ करोड पुगेको छ । गतआ.व.को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्तापूँजी पुर्याइने बैंकले जनाएको छ ।