काठमाण्डौ । आयोजना प्रभावित(स्थानीय)बाट बहिस्कृत अर्को जलविद्युत आयोजनालाई समेत धितोपत्र बोर्डले आइपीओ निश्कासन अनुमति दिएको छ । 

माउण्टेन हाइड्रो नेपाल लिमीटेडलाई धितोपत्र बोर्डले १८ लाख १६ हजार ११० कित्ता आइपीओ निश्कासनको अनुमति दिएको हो । 

यो कम्पनीले गत असार २२ गतेदेखि आयोजना प्रभावित पाँचथरबासीका लागि १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, सो क्रममा स्थानीयले यो कम्पनीको सबै सेयर किनेनन् । सो क्रममा ५ लाख ६६ हजार ११० कित्ता बिकेको थिएन । नबिकेको सो कित्ता समेत समावेश गरी सर्वसाधारणका लागि १८ लाख १६ हजार ११० कित्ता आइपीओ निश्कासन अनुमति दिइएको बोर्डले जनाएको छ ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ । जसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।

माउण्टेन हाइड्रोले पाँचथरमा २१.६ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।