काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडले फागुन २३ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले आयोजना प्रभावितले नकिनेको समेत गरी कुल १८ लाख १६ हजार ११० कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । 

यो कम्पनीले गत असार २२ गतेदेखि आयोजना प्रभावित पाँचथरबासीका लागि १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, सो क्रममा स्थानीयले यो कम्पनीको सबै सेयर किनेनन् । सो क्रममा ५ लाख ६६ हजार ११० कित्ता बिकेको थिएन । नबिकेको सो कित्ता समेत समावेश गरी सर्वसाधारणका लागि १८ लाख १६ हजार ११० कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । 

आइपीओमा छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ । जसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।

माउण्टेन हाइड्रोले पाँचथरमा २१.६ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।