काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको आईपीओ साउन ८ गतेबाट निष्कासन गर्ने भएको छ। 

कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जुन कम्पनीको जारी पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँबराबरको हुन आउँछ।

त्यसमध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता (जारी पुँजीको १० प्रतिशत) आईपीओ बिक्री गर्न लागेको हो। दोस्रो चरण सर्वसाधारणका लागि सोही बराबर अर्थात १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ। 

पहिलो चरणमा निष्कासन गरिएको आईपीओमा प्रभावित क्षेत्रका स्थानीय साउन २२ गतेभित्र खरिद आवेदन दिइसक्नुपर्नेछ। सो मितिभित्र बिक्री नभएमा भदौ ५ गतेसम्म आईपीओमा खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयका लागि खुलाइएको आईपीओमा नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावित ६० प्रतिशत छुट्टाइएको छ। दुवै वर्गका प्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्रका रुपमा (पञ्चकन्या गापा वडा नं. (साविकको थप्रेक गाविस) र तादी गापा वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा प्रभावित क्षेत्रमा तादी गापा, पञ्चकन्या गापा, लिखु गापा छन्। 

त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा (अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी छन्। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।