काठमाण्डौ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले बजार माफियाहरुको फन्दामा परेको र उनीहरुकै कारण नेपाल आयल निगम समेत भ्रष्टहरुको चंगुलमा परेको दाबी गर्दै इन्धनमा कालोबजारी अन्तको मागसहित आइतबार बबरमहलस्थित निगमको कार्यालय घेराउ गरी प्रदर्शन गरेको छ । 
 

अनेरास्ववियुले सरकार र सम्बन्धित मन्त्रालयकै संरक्षणमा कालोबजारी संस्थागत भएको आरोप समेत लगाएको छ । 
इन्धनमा बढ्दो कालोबजारीविरुद्ध आयल निगममा विद्यार्थीहरुले घेराउ गरेका हुन् । उनीहरुले केही समय कर्मचारीलाई मुख्य प्रवेशद्वारबाट कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए । हात–हातमा प्लेकार्ड बोकेर पुगेका विद्यार्थीहरुले देशमा व्याप्त बनेको माफियातन्त्र अन्त हुनुपर्ने, इन्धन लगायत जनताको दैनिकीसँग जोडिएका अति आवश्यक वस्तुहरुमा भइरहेको कालोबजारी बन्द हुनुपर्ने लगायतका माग गरेका थिए । 

 

आयल निगम घेराउ कार्यक्रमको नेतृत्व अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नवीना लामाले नेतृत्व लिएकी थिइन । ९ बजेदेखि सुरु भएको घेराउ कार्यक्रम ११ बजेसम्म जारी रहेको थियो । 
 

विद्यार्थीहरुले विराट आयल कम्पनीसँग इन्धन आयातको सम्झौता खारेजी हुनुपर्ने माग समेत गरेका थिए । विराटलाई प्रचलित बजार मूल्यभन्दा महंगोमा इन्धन बेच्न दिएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको अध्यक्ष लामाले जानकारी दिइन । आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुलाई सम्बोधन गर्दै अध्यक्ष लामाले भ्रष्टाचार र कालोबजारीलाई कारबाही गर्न माग गरिन् । उनले सरकारकै संरक्षणमा कालोबजारी मौलाइरहेको आरोप समेत लगाइन ।
 

इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन, संस्थागत भ्रष्टाचार रोक्न र कालोबजारी अन्त्य गर्न माग गर्दै सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अनेरास्ववियूका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।