काठमाण्डौ । अपेक्षित मत आउन नसकेपछि मतगणनामा प्रतिनिधिको रुपमा बसेका माओवादी कार्यकर्ताले मतपत्र च्यातेलगत्तै भरतपुरमा तनाव उत्पन्न भएको छ । 

मतगणनाको क्रममा माओवादी कांग्रेस संयुक्त गठबन्धनकी साझा उम्मेद्वार रेणु दाहालले एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीसँगको मत अन्तर अपेक्षा गरेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरुले हुलदंगा सुरु गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रत्यक्षदर्शीहरुका अनुसार वाइसिएलका जिल्ला इञ्चार्ज मधु न्यौपानेले मतगणना भइरहँदा मतपत्र च्यातेका थिए । त्यसपछि बढेको तनावमा रेणुु दाहालको प्रतिनिधिको रुपमा मतगणनास्थलभित्रै बसेका द्रोण शिवाकोटीले समेत फेरि मतपत्र च्यातेर घिउ थप्ने काम गरेका थिए । त्यसपछि मतगणना स्थल र आसपासको क्षेत्रमा होहल्ला र हुलदंगा भएको बताइएको छ । 

मतपत्र च्यात्ने दुवै माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

माओवादी कार्यकर्ताले हुुलदंगा गर्न थालेपछि एमाले कार्यकर्ताले त्यसको प्रतिरोध गरेका छन् । सो क्रममा दुुई पक्षबीच झडप समेत भएको छ । झडपलाई साम्य पार्न प्रहरीले लाठीचार्ज समेत गरेको छ । 

मतगणनास्थलमा गन्न बाँकी मतहरु प्रहरीले निकै कडा सुरक्षा घेराभित्र राखेको छ । 

हुलदंगा र झडपसँगै तनाव सिर्जना भएपछि अहिले भरतपुरको मतगणना कार्य स्थगित भएको छ।