काठमाण्डौ । एउटै छानामुनि समग्र बित्तीय तथा सेयर बजारको सूचना प्राप्तिका लागि आगामी माघ १९ र २० गते काठमाण्डौको भृकुटीमण्डपमा दोश्रो बैकिङ एक्स्पो आयोजना हुने भएको छ । 

मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघ, नेपाल क्लियरिङ हाउस, माइक्रोफाइनान्स बैंकर्स एशोसिएसन, युवा स्वरोजगार कोष लगायतको सहकार्यमा बैंकिङ एक्स्पोको दोश्रो संस्करण आयोजना हुन लागेको हो । 

एक्स्पोमा नेपाल राष्ट्रबैंक, बिमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगकार कोष, नागरिक लगानीकोष, विभिन्न बैंकहरु, बित्त कम्पनी, माइक्रोफाइनान्स कम्पनी, बिमा कम्पनी, मर्चेन्ट बैंक, रेमिट्यान्स, ब्रोकर एशोसिएसन तथा बित्तीय संघ–संस्थाहरुले स्टल राख्ने कार्यक्रम संयोजक माधव निर्दोषले  जानकारी दिए । एक्स्पोमा ७० वटा स्टल रहनेछन् ।

मिडिया इन्टरनेशनलले पहिलो बैकिङ एक्स्पो २०७४ बैशाख १६, १७ र १८ गते काठमाण्डौमा आयोजना गरेको थियो । त्यसपछि मोफसलमा पहिलोपटक पुस १४, १५ र १६ गते सुनसरीको इटहरीमा बैकिङ एक्स्पो आयोजना गरिएको थियो । 

एक्स्पो अवधिमा चारवटा सेशनमा देशको वर्तमान वित्तीय तथा बिमाको अवस्था, फाइनान्सियल टेक्नोलोजी, सेयर बजार एवम् उद्यमशीलताको बिषयमा अन्तरक्रिया गरिने बताइएको छ । 

एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सम्मेलनमा बैकिङ एक्स्पोको महत्वको बिषयमा प्रभू बैंकका सीइओ अशोक शेरचन, डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष भरतराज ढकाल, रिलायन्स लाइफ इन्स्योरेन्सका सीइओ प्रवीणमान पराजुली, नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनका सदस्य भेषराज पन्थी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।