काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमीटेडले संचालन गर्न लागेको पहिलो सामूहिक लगानीकोष 'एनआइसी एशिया ग्रोथ फण्ड'को इकाई खरीदका लागि आवेदन दिने समय थप गरिएको छ । 

क्यापिटल स्रोतका अनुसार फण्डको १० करोड इकाई खरीदका लागि आगामी माघ २१ गतेसम्म समय थपिएको हो । 

यो फण्डमा सिटिजन्स म्युचुअल फण्डको तुलनामा निकै राम्रो आवेदन परे पनि माग अनुसारको आवेदन भने सोमबारसम्म पर्न सकेन । यहीकारण यसअघि नै भएको घोषणा अनुसार ढिलोमा माघ २१ गतेभित्र आवेदन दिनसक्ने गरी समय थप गरिएका क्यापिटलका एक अधिकारीले जानकारी दिए । 

'समय २१ गतेसम्म थपियो, मागेजति आवेदन त्यो भन्दा चाँडै परेको खण्डमा त्यो भन्दा छिटै पनि आवेदन लिने कार्य बन्द हुनसक्छ ।' ती अधिकारीले भने-'माघ ८ गतेसम्म कति आवेदन परे भन्ने कुराको गणना भइरहेको छ । तर, हाम्रो अनुमानमा माग अनुसारको आवेदन परेन र म्याद थप्ने निश्कर्षमा पुग्यौ ।' 

क्यापिटलका अधिकारीका अनुसार म्युचुअल फण्डमा सर्वसाधारणहरुको उत्साहजनक सहभागिता रहे पनि संस्थागत र ठूला लगानीकर्ताबाट भने अपेक्षा भन्दा कम आवेदन परेका कारण अन्तिम अवस्थामा आवेदन मिति थप गर्नुपरेको हो । 

एनआइसी एशिया ग्रोथ स्किमको १० रुपैयाँ प्रति इकाईको दरले १ अर्ब बराबरको सार्वजनिक निश्कासन गरिएको थियो । माघ २ गतेदेखि इकाई खरीदका लागि आवेदन खुल्ला गरिएको र छिटोमा माघ ८ गते र ढिलोमा २१ गतेसम्म आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो ।

यसैबीच, अर्का एक मर्चेन्ट बैंकरले भने धितोपत्र बोर्ड र अन्य सरोकारवाला निकायहरुले समेत एनआइसी एशिया र सिटिजन्सलाई एउटै मितिबाट इकाई निश्कासनको अनुमति दिने गल्तीले समेत अवस्था यस्तो भएको दाबी गरे । ‘एउटै मिति पारेर २ स्किमको टक्कर नगराइएको भए दुवैले छिटोमा आवेदन दिनुपर्ने मितिमै भनेजति  लगानी बटुल्न सक्ने थिए ।’ ती बैंकरले भने–‘एनआइसीको तुलनामा सिटिजन म्युचुअल फण्डको अवस्था दयनीय छ ।’