काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

पुस २० गते शुक्रबार पोखरास्थित होटल पोखरा ग्राण्डमा भएको साधारणसभाले संचालक समितिबाट भएको १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी.को सभापतित्वमा भएको साधारणसभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७५/७६ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । 

सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.वीरेन्द्रप्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

साथै, सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा. वीरेन्द्रप्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

सांसद भएपछि यसअघि समेत अध्यक्ष रहेको महतोले बैंक छाडेका थिए । अहिले फेरि उनी अध्यक्षको रुपमा पुनरागमन भएका हुन् ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ ।

बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा रु.३७करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ भने  २०७५ असोज मसान्तसम्ममा रु. ७७ अर्ब ९८ करोड निक्षेप परिचालन गरी रु. ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानबाट बैंकिङ्ग सुबिधा  प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा छन् ।