काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ ७०.३१ प्रतिशतको छलांग मारेको छ । 

बैंकले यो अवधिमा ८० करोड ३६ लाख यस्तो नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको  यही अवधिमा बैंकको यस्तो नाफा ४७ करोड १८ लाखमा सीमित थियो ।

बैंकले आफ्नो खूद नाफातर्फ पनि ६०.५९ प्रतिशतले फड्को मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ४८ करोड ६५ लाखमा सीमित खूद नाफा बढाएर यो वर्ष ७८ करोड १३ लाखको उचाई चुमाएको हो । 

बैंकले संचालन नाफा ६९ करोड ६० लाखबाट बढाएर १ अर्ब १५ करोड पुर्याएको छ । 

व्यवसाय बिस्तारमा आक्रामक बनेको बैंकले खूद ब्याज आम्दानी ५४ प्रतिशतको हाराहारीमा बढोत्तरी गर्दै १ अर्ब ६९ करोड पुर्याएको छ । ४ अर्ब ८१ करोड ब्याज आम्दानी गरेको बैंकले ३ अर्ब ११ करोड ब्याज खर्च गरेको देखिएको छ ।  

समीक्षा अवधिमा बैंकले ८५ अर्ब १७ करोड बढी निक्षेप संकलन गरी ७४ अर्ब ६५ करोड बढी कर्जा परिचालन गरेको छ । बैंकले निक्षेपतर्फ २९.४५ प्रतिशत र कर्जातर्फ २४.२७ प्रतिशतको वृद्धि गरेको छ । निक्षेप र कर्जातर्फ बैंकको यो बढोत्तरी निकै सन्तुलित देखिएको छ । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५६ करोडमा सीमित रिजर्बकोषको आकारमा  करिब ४५ प्रतिशतले बढोत्तरी गरी २ अर्ब २७ करोडको उचाईमा पुगेको छ । 

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ०.३३ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.४४ प्रतिशत पुगेको छ ।

बैंकको चुक्तापूँजी स्थिर रहनु र नाफामा आकर्षक प्रगति गरेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानीमा उत्साहप्रद प्रगति भएको छ । अघिल्लो वर्ष यही अवधिमा १२ रुपैयाँ ८ पैसामा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १९ रुपैयाँ ४० पैसाको उचाईमा पुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२८.२१ रुपैयाँ कायम भएको छ । यस्तै, मूल्य आम्दानी अनुपात १०.६२ गुणा कायम छ ।