काठमाण्डौ । नजिकिँदो पर्व तिहारलाई हामी झिलिमिली बत्तीको पर्वका रुपमा पनि लिन्छौँ । तिहारका हरेक हामी माटोको दीयोमा बत्ती बालेर पूरै घर झिलिमिली पार्छौं । अहिले बजारमा कृत्रिम बत्ती आएपछि दीयोको प्रचलन केही घटेको जस्तो भान हुन्छ । तर दीयोको बत्तीले जस्तो दिने रौनक अरु हुँदैन ।

भारतमा यो पर्वलाई दिपावलीका रुपमा मनाइन्छ । त्यहाँ पनि माटोको दीयोमा बत्ती बाल्ने प्रचलन निकै छ । यस्तै भारतको धारावीमा कुमाले समुदायको एउटा ठूलो बस्ती छ । यो बस्ती सन् १९३२ मा गुजरातबाट विस्थापित भएर आएकाहरुले विकास गरेका हुन् ।

सुरुमा झुग्गी बस्तीबाट परिचित यो ठाउँ अहिले पोटरी भिलेजका नामले चिनिन्छ । झन्डै १२.५ एकड जमिनमा फैलिएको यो बस्ती अझै दीयोको बजारका रुपमा पनि प्रख्यात छ ।

हिजोआज यो बस्तीका मानिस दीपावलीका लागि आवश्यक विभिन्न खाले दीपो बनाउन व्यस्त छन् । यहाँ ठूलो संख्यामा गोवा, शोलापुर, नागपुर, नासिक, सुरत र बडौदाजस्ता ठाउँका व्यापारी दीपावलीमा चाहिने दीयो किन्न र अर्डर दिन जाने गरेका छन् ।

बस्तीमा दीयोका सबैभन्दा ठूलो व्यापार नरोत्तम टंकका अनुसार यो बस्तीमा बनेको दीयो अमेरिका, ब्रिटेन, क्यानाडाजस्ता ठूला मुलुकसँगै खाडी मुलुकहरुमा पनि निर्यात हुने गरेको छ । अहिले त अनलाइनमार्फत पनि दीयोको कारोबार भइरहेको नरोत्तम सुनाउँछन्। ‘स्कुल र कलेजका विद्यार्थी पनि यहाँ दीपो बनाउने तालिम लिन आउँछन्’, उनी भन्छन् ।

स्थानीय धारावी प्रजापति सहकारी उत्पादक संका अध्यक्ष कमलेश चित्रोदाका अनुसार यहाँका हरेक परिवारले वर्षमा औसत विभिन्न आकारप्रकारका एक लाख दीयो तयार पार्छन् । ‘यहाँबाट हरेक वर्ष औसत ८ देखि १० करोड गोटा दीयो बिक्री हुन्छ’, उनी भन्छन्, ‘त्यसमध्ये करिब ५० गोटा दीयो विदेशमा निर्यात हुन्छ । वार्षिक १६ अर्ब रुपैयाँसम्म आम्दानी हुन्छ ।’

बस्तीमा दीयो बनाउने तालिम सञ्चालन गरेका युसुफ गलवानीका अनुसार तालिम लिन आर्किटेक्ट, इन्टिरियर डेकोरेटर र पोटरी आर्टिस्ट आउँछनज् । ‘हामीले ६ महिने तालिम चलाइरहेका छौँ’, गलवानी भन्छन्, ‘प्रति प्रशिक्षार्थी ११ हजार रुपैयाँ मासिक लिन्छौँ ।’

धारावी प्रजापति सहकारी उत्पादक संघका उपाध्यक्ष देवजी चित्रोदा दीयोको बढ्दो मागले बस्तीको मुहार फेरिएको बताउँछन् । उनी भन्छन्, ‘मानिसको जीवनस्तर उकासिएको छ ।’

चित्रोका अनुसार पर्यावरणलाई ध्यानमा राखेर दीयो बनाउन प्रयोग हुने साधन जैविक इन्धन प्रयोग गरिन्छ । ‘बिना धुँवाका सातवटा भट्टी सुरु भइसकेको छ’, उनी भन्छन् ।

यो बस्तीमा बसोबास गर्ने हरेक परिवारका पूरै सदस्यले राम्रो रोजगारी पाएका छन् । दिनहुँ एउटा परिवार न्यूनतम २ हजार र अधिकतम ५ हजार गोटासम्म दीयो तयार पार्छन् । –एजेन्सी