काठमाण्डौ । विश्वमा एकतर्फ धेरै मानिसको खेतीतर्फको आकर्षण घटिरहेको छ भने अर्कोतर्फ यस्ता मानिस पनि छन्, जो निकै आकर्षक मानिने जागिर समेत छाडेर खेतीतर्फ लागेका छन् । भारतको चेन्नईमा बस्ने एक व्यक्तिलाई माटोबिना नै खेती गर्ने आधुनिक प्रविधिले यति धेरै तान्यो कि, अब यही माध्यम उनका लागि रोजीरोटीको विकल्प बनेको छ, त्यति मात्र होइन यही प्रविधिले उनलाई रातारात करोडपति समेत बनाइदिएको छ । यी व्यक्तिले बिनामाटो खेती गर्ने एक स्टार्टअपको सुरुवात गरे र स्टार्टअपमा यति धेरै प्रगति भयो कि छोटो अवधिमै उनको कुल टर्नओभर ६ करोड माथिको उचाईमा पुगिसकेको छ । ती व्यक्ति हुन् चेन्नईका स्थायीबासी श्रीराम गोपाल । उनको यो सफलताको कथा नेपाली युवाहरुका लागि समेत प्रेरणाको स्रोत बन्नसक्छ भन्ने उद्देश्यले यहाँ प्रस्तुत गरिएको छ । उनले अपनाएको प्रविधि नेपालका लागि समेत निकै उपयोगी हुनसक्छ । नेपालका धेरै ठाउँमा यो प्रविधिको प्रयोग थालिए पनि यसको बिस्तार अझै हुन सकेको छैन । 

श्रीराम गोपालले मिडियाहरुसँग कुराकानी गर्दै भनेका छन् कि ५ वर्षअघि उनलाई एक साथीले एक भिडियो देखाए, जसमा बिना माटो खेती गर्ने तरिका बताइएको थियो । यो भिडियोको नयाँ आइडियाबाट श्रीराम निकै धेरै प्रभावित भए । यो टेक्निकमा खेत वा माटोको कुनै आवश्यकता पर्दैन । माटोबिना नै खेती गर्ने यो तरिकाको नाम हो हाइड्रोपोनिक्स । उनले यसको सुरुवात आफ्ना बुुबाको बन्द उद्योगको खालि क्षेत्रबाट गरेका थिए ।

माटोबिना नै छतमा खेती


हाइड्रोपोनिक्स टेक्निकमा वनस्पतिलाई माटोबिना नै उमारिन्छ । यो प्रविधिमा बिरुवालाई आवश्यक पर्ने पोषक तत्व पानीको माध्यमबाट पठाइन्छ । बिरुवा एक मल्टी लेयर फ्रेमको साहारामा अडिएको पाइपमा उम्रिन्छ र वनस्पतिको जरा पाइपको भित्र पोषकतत्व भरिएको पानीमा छाडिन्छ । माटो प्रयोग नहुने हुँदा यो प्रविधिले न छतमा भार पर्छ, बिल्कुल अलग्गै सिस्टम भएका कारण छतमा कुनै परिवर्तन पनि गर्नु पर्दैन । 

८लाखबाट कारोबारको सुरुवात
श्रीरामका अनुसार उनले आफ्ना तीन साथीसँग मिलेर ८ लाख नेपाली रुपैयाँ बराबरको रकमबाट फ्यूूचर फार्मको सुरुवात गरेका थिए । उनको पिताको पुरानो उद्योगमा निकै धेरै खालि ठाउँ थियो । उनले त्यही ठाउँमा हाइड्रोपोनिक प्रविधिबाट खेती गर्ने योजना बनाए । उनको पिताको उद्योगमा फोटो तथा फिल्म डेभलप गर्ने काम हुन्थ्यो, तर डिजिटल फोटोग्राफी आएपछि उद्योग बन्द भएको थियो । यहीबाट फ्यूूचर्स फार्मको सुरुवात भयो । अब उनको कम्पनीको वार्षिक कारोबार निकट भविष्यमै वार्षिक १३ करोड माथि पुुग्ने अपेक्षा गरिएको छ । 

हाइड्रोपोनिक खेतीलाई बढावा


श्रीरामका अनुसार माटोबिनाको यो खेतीमा सामान्य खेतीको तुलनामा ९० प्रतिशत कम पानी लाग्छ । हाल उनको कम्पनीले हाइड्रोपोनिक्स किट्स बिक्री गर्छ । किट्सको सुरुवाती मूल्य १६ सय नेपाली रुपैयाँ रहेको छ । क्षेत्रफल र आवश्यकताको आधारमा किट्सको मूूल्य तय गरिन्छ । यो  टेक्निकलाई एक एकड क्षेत्रफलमा लगाउँदा ८० लाख रुपैयाँ खर्च हुन्छ । यस्तै, तपाईले आफ्नो घरको ८० स्क्वायर फुुटमा यो टेक्निक लगाउने खर्च ७० हजार रुपैयाँको हाराहारीमा आउँछ । यो खर्चमा १६० बिरुवा लगाउन सकिन्छ । 

वार्षिक ३०० प्रतिशतको प्रगति
श्रीरामका अनुसार सन् २०१५–१६ मा उनको कम्पनीको टर्नओभर मात्र ६४ लाख थियो । तर, एक वर्षमै यो बढेर ३ करोड २० लाख माथि पुुग्यो । उनका अनुसार यो कारोबार वार्षिक रुपमा ३ सय प्रतिशतले वृद्धि भइरहेको छ । हाल जारी आर्थिक वर्षको पहिलो क्वार्टरमै उनले ३ करोड २० लाखको कारोबार गरिसकेका छन् । उनले यो वर्षको कारोबार १० करोडको हाराहारीमा पुर्याउने आशा व्यक्त गरेका छन् । ट्रान्सपरेन्सी मार्केट रिसर्चका अनुसार विश्वको हाइड्रोपोनिक्सको बजार सन् २०१६ मा ६९३.४६ करोड डलरको थियो । सन् २०२५ मा यो बजार बिस्तार भई १२१०.६५ करोड डलरको हुने दाबी गरिएको छ ।