काठमाण्डौ । कोरोनाकालमा भारतको सार्वजनिक क्षेत्रको बैंकमा फ्रड(ठगी)का घटनाहरु झनै बढेका छन् । अप्रीलदेखि जूनसम्मको त्रैमासमा १९ हजार ९६४ करोड भारु बैंकहरुबाट ठगी भएको इकोनोमिक टाइम्सले जनाएको छ । 

यो तीन महिनाको अवधिमा २ हजार ८६७ वटा बैकिङ फ्रडका घटनाहरु सार्वजनिक भएका छन् । 

सूचनाको अधिकार(आरटीआई)मार्फत मागिएको सूचनामा यस्तो खुलासा भएको हो । 

आरटीआईका अभियन्ता चन्द्रशेखर गौडले सूचनाको अधिकारअन्तर्गत रिजर्ब बैंकसँग यो विषयमा जानकारी मागेका थिए । 

भारतको सबैभन्दा ठूलो भारतीय स्टेट बैंक(एसबीआई)मा संख्याको हिसाबले सबैभन्दा बढी फ्रडका घटना देखिएका छन् । तर, ठगिएको रकमको हिसाबले हेर्दा बैंक अफ इण्डिया धोकाधडी(फ्रड)बाट सबैभन्दा अधिक प्रभावित छ । 

तथ्याङ्कअनुसार यो अवधिमा सार्वजनिक क्षेत्रका १२ बैंकमा एसबीआईमा सबैभन्दा बढी २ हजार ५० वटा ठगीका घटना भए, कुल २३२५.८८ करोड भारु ठगी भयो । 

मूल्यको हिसाबले बैंक अफ इण्डियालाई ठगीबाट सबैभन्दा धेरै चोट लाग्यो । यो बैंकले ठगीका ४७ घटनाहरुबाट ५१२४.८७ करोड भारु बराबरको चुना लाग्यो । 

यस अलावा केनरा बैंकले ३८८५.२६ करोड, बैंक अफ बडौदाले २८४२.९४ करोड, इण्डियन बैंकमा १४६९.७९ करोड, इण्डियन ओभरसिज बैंकमा १२०७.६५ करोड, बैंक अफ महाराष्ट्रमा ११४०.३७ करोड भारु बराबरको क्षति व्यहोरेका छन् । 

यस क्रममा सबैभन्दा ठूलो सरकारी बैंक पञ्जाब नेशनल बैंक(पिएनबी)बाट यो क्रममा २७०.६५ करोड भारु ठगी भएको छ । 

अन्य बैंकहरुमा यूको बैंकमा ८३१.३५ करोड, सेन्ट्रल बैंक अफ इण्डियामा ६५५.८४ करोड, पञ्जाब एण्ड सिंध बैंकमा १६३.३ करोड, युनियन बैंक अफ इण्डियामा ४६.५२ करोड भारुभन्दा बढी ठगी भएको छ । 

रिजर्ब बैंकले प्रस्तुत आँकडा बैंकहरुले सुरुवातमा दिएको आँकडा मात्र रहेको बताएको छ । यसमा परिवर्तन वा सुधार हुनसक्छ ।