काठमाण्डौ । नेपालले आफ्नै लगानीमा निर्माण गरिरहेको राष्ट्रिय गौरवको हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ८३ प्रतिशत काम सकिएको छ । 

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार लामो समयको नाकाबन्दी र भूकम्पले गरेको अवरोध तथा प्रभावका बाबजुद पनि आयोजना निर्माणको कामले अपेक्षित गति लिएको हो । 

हालसम्म आयोजनाको ८३ प्रतिशत काम सकिइसकेको र यही गतिमा निर्माण कार्य निरन्तर रहे ०७५ साल असार मसान्तभित्रमा निर्माण सम्पन्न भइसक्नेछ । 

उत्तरी दोलखामा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण कार्य भूकम्प र सीमा अवरोधका कारण केही ढिलो भए पनि अहिले चाहि सन्तोषजनक ढंगले अगाडि बढिरहेको न्यौपाने बताउँछन् । 

नेपालभित्रै उपलब्ध दक्षता र पुँजी लगानी गरी उत्तरी दोलखामा ०६७ साउनदेखि निर्माण थालिएको यो जलविद्युत आयोजनाको काम आउने मंसिरमा पूरा गर्ने प्रारम्भिक योजना थियो । यो आयोजनाका लागि आवश्यक बाटोको निर्माण कार्य चाहि ०६३ सालदेखि नै सुरु गरिएको थियो । 

प्रवक्ता न्यौपानेले आयोजनाको ८३ प्रतिशत काम सकिएको र अहिले आयोजनाको शिरतिर सडक सँगै अन्य संरचना बनाउने काम धमाधम भइरहेको बताए । उनका अनुसार हरेक वर्षायाममा हुने भारी वर्षात र आयोजना क्षेत्रमा जाने पहिरोले माथिल्लो तामाकोसी निर्माणमा चुनौती थप्ने गरेको छ । यो वर्ष पनि आयोजनाले यस्तो सकस भोग्नुपरेको उनले बताए । 

माथिल्लो तामाकोसी जलविद्युत आयोजना क्षेत्र पुग्नका लागि करिब ७० किलोमिटर लामो सडक बनाउने योजना थियो। आयोजना प्रवक्ताका अनुसार सो सडक अहिले आयोजनाको शिरसम्मै बनिसक्न लागेको छ, तर कठिन भौगोलिक अवस्थाका कारण ठाउँ ठाउँमा सडकका लागि पनि सुरुङ बनाउनु परिरहेको उनको भनाई छ । ‘कुल ३६० सुरुङमार्गमध्ये हालसम्म १९० मिटरको निर्माण भइसकेको छ ।’ उनले बिजशालासँग भने–‘ट्रान्समिसन लाइनको कामले पनि गति लिएको छ ।’ 

बढ्ने भो लागत
शुरुमा यो आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ रहने अनुमान गरिए पनि ढिलाईका कारण अबको लागत करिब ४३ अर्ब पुग्ने देखिएको न्यौपानेले जानकारी दिए । आयोजना निर्माणमा आएको विभिन्न गतिरोध र डलरको भाउको उतारचढावले समेत आयोजनाको लागत बढाइदिएको उनको भनाई छ । आयोजना डिजाइन गर्दाताकाको डलरको भाउ र अहिलेको डलरको भाउको हिसाब गर्दा समेत यताबाट मात्र आयोजनालाई साढे ३ अर्ब भार थपिनेछ । 

आफ्नै लगानीमा निर्माण पूरा हुन लागेको यो आयोजनामा सञ्चयकोषबाट १० अर्ब, नेपाल टेलिकमबाट ६ अर्ब, बिमा संस्थानबाट २ अर्ब र नागरिक लगानी कोषबाट २ अर्ब गरी  कुल २० अर्ब ऋण लगानी रहेको छ । 

यो आयोजनाका लागि नेपाल सरकारले साढे ११ अर्ब विनियोजन गरेकोमा ९ अर्ब बढी निकासा भई खर्च पनि भइसकेको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका कर्मचारी, आयोजनास्थल दोलखाबासीको समेत लगानी रहेको छ । सर्वसाधारणबाट इनिसियल पब्लिक अफरिङ(आइपीओ) जारी गरी लगानी जुटाइएको छ । यसरी ऋण र विभिन्न निकायको तथा पक्षको लगानीमा नमूना आयोजनाको रुपमा माथिल्लो तामाकोशीको काम पूरा हुन लागेको हो ।

यो आयोजनाको निर्माण पूरा भएपछि यसबाट पहिलो फेजमा उत्पादन हुन थाल्ने विद्युतले पनि बिजुलीमा बढ्दै गएको नेपालको भारत निर्भरतालाई उल्लेख्य रुपमा घटाउनसक्ने अधिकारीहरुको अपेक्षा छ ।

न्यौपानेका अनुसार यो आयोजना निर्माण सम्पन्न भएपछि नेपाली लगानी र सामथ्र्यमा पनि ठूला जलविद्युत आयोजना निर्माण संभव छ भन्ने सुसन्देशको संचार गराउनेछ ।