काठमाण्डौ । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असार २४ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९१ करोड ५ लाख ९० हजार र सर्वसाधारणका लागि ९१ करोड ५८ लाख ८५ हजार कित्ता प्राथमिक सेयर निश्कासन गर्ने भएको हो । 

आइपीओका लागि आह्वानपत्र असार १२ गते प्रकाशन हुने बताइएको छ । 

अपर तामाकोशी हाइडोपावर लिमीटेड र बिक्री प्रबन्धक नागरिक लगानीकोषबीच शुक्रबार भएको बैठकले असार २४ गतेदेखि आइपीओ निश्कासन गर्ने गरी तीव्र तयारी अगाडि बढाउने निर्णय गरेको नागरिक लगानीकोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले जानकारी दिए । आयोजना प्रभावित र स्थानीयका लागि निश्कासन हुने आइपीओको एउटै आह्वानपत्र सार्वजनिक हुनेछ ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरिने र त्यसको बाँडफाँडपछि सर्वसाधारणका लागि समेत आइपीओ निश्कासन गरिनेछ । 

यो कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल प्राधिकरण र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई २४ प्रतिशत सेयर निश्कासन गरिसकेको छ । 

कम्पनीले दोलखामा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको करिब ९६ प्रतिशत कार्य पूरा भइसकेको छ । यही आयोजनाका लागि सर्वसाधारण र आयोजना प्रभावित गरी २५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । 

यो आयोजनाको एउटा युनिटबाट आगामी पुसभित्रमा विद्युत उत्पादन थालिने समेत कम्पनीका अधिकारीहरुले बताएका छन् । 

स्थानीयवासीले कम्तीमा ३० देखि बढीमा ३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिनेछ । 

माथिल्लो तामाकोशीले यसअघि नै आइपीओ निश्कासन गर्ने भने पनि स्थानीयवासीको आन्दोलनपछि स्थगित भएको थियो । स्थानीय स्तरमा उत्पन्न विवाद समाधान भइसकेकोले अब भने असार तेश्रो साताभित्र नै सेयर निश्कासन भइसक्ने बताइएको छ ।