काठमाण्डौ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले ४५६ मेगावाट क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई द्रूत गतिमा अघि बढाउन पहल थालेका छन् ।

यसअघि मन्त्री पुनले आयोजना प्रमुख विज्ञान श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलाई राखेर आयोजनालाई युद्धस्तरमा अघि बढाउने विषयमा छलफल गरेका थिए ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, परियोजनका प्रमुख विज्ञान श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधी टेक्सम्याको रेलवे इन्जिनियरीङलाई राखेर आयोजनामा देखिएको समस्यालाई हल गर्ने विषयमा छलफल गरेका हुन् ।

उनले यसअघि समेत आयोजनामा देखिएको समस्यालाई हल गर्न अनौपचारिक बैठक डाँकेका थिए । 

सोमबार भएको छलफलमा मन्त्री पुनले कामको गति बढाउन निर्देशन दिनुका साथै निर्माण कम्पनीलाई सात दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिएका छन् ।

‘अब समयमा सम्झौता हुँदैन, गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौ, आयोजनाको काम कहाँ, कसरी र कहिले सक्ने हो त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस् ।’ मन्त्री पुनले छलफलमा निर्देशन दिंदै भने ।

समयमा काम अघि नबढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनी समेत मन्त्री पुनले दिएका थिए । 

उर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतीको वारेमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दोलखा पुगेका थिए । उनले आयोजनामा देखिएको समस्या हल गर्न सम्बन्धित पक्षलाई पटक–पटक निर्देशन दिंदै आएका छन् ।

सो क्रममा टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसिमाभित्रै खाका बुझाउने प्रतिवद्धता जनाएको छ ।