काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयरको आइतबारदेखि कारोबार सुरु भएको छ । 

यो कम्पनीको सेयरलाई नेप्सेले गत शुक्रबार सूचिकृत गरेको थियो । 

कम्पनीले दोश्रो बजारमा कारोबार गर्न UPPER सिम्बोल पाएको छ । 

नेप्सेले सुरुवाती कारोबारका लागि यो कम्पनीको सेयरमूल्य रु. ७४.८९ देखि २२४.६७ रुपैयाँको रेञ्जमा तोकिदिएको छ । 

स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आएको हो ।

कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । 

दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । 

कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो । 

कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । 

शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण भएको हो । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ ।