काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार अझै २ वर्ष टिक्ने दाबी गर्दै यो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् । 

नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाइन्स मजदुर यूनियन(यूनिट्राभ)अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिबेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रियताको पक्षमा रहेको सरकारलाई कसैले ढाल्न नसक्ने बताए । 

यो सरकारले इतिहासमै उदाहरणीय काम गरेर देखाएको उनको दाबी थियो । नेपालले भने–‘कांग्रेस सभापति शेरबहादुर देउवा ३ पटक प्रधानमन्त्री भइसक्नुभएको छ, उहाँ किन सरकारमा जानुपर्यो ? सरकार दुई वर्ष टिक्छ । संबिधानको कार्यान्वयन पनि यहि सरकारले गर्छ, स्थानीय निकायको चुनाव पनि गर्छ ।’ 

पर्यटनको विकासका लागि हवाई क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएर एयरपोर्टभित्र सुधार गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् । एयरपोर्टका श्रमिकको नाममा ठेक्कामार्फत श्रमशोषण गर्ने ठेकेदारलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले श्रम कानुन अन्तर्गत मजदुरलाई आफ्ना हकअधिकारको माग गर्न आग्रह गर्दै बन्द, हड्तालको संस्कृतिलाई एमालेले नस्वीकार्ने बताए ।

जिफन्टका उपमहासचिव जनक चौधरीले यो सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन तुरुन्तै पास गरी श्रमजिवी वर्गको भावनाको कदर गर्नुपर्ने र देशको रुपान्तरण गर्नुपर्ने बताए ।

यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले एक्काइसौं शताब्दीमा ठेक्कामार्फत हुने गरेको मानव बेचबिखन र श्रमशोषणको अन्त हुनुपर्नेमा जोड दिए । उनले भने–‘नेपाल एयरलाइन्समा ठेक्कापट्टाको सट्टा सिधा भुक्तानी गर्ने गरी श्रमिकलाई स्थायी नियुक्ति दिनुपर्यो । संबिधानलाई चुनौति दिने खालका कम्पनीका विनियमावली खारेज हुनपर्यो । ठूलालाई चयन सानालाई ऐन भने जस्तो किसिमका विनियमावली तत्काल खारेज गरियोस् ।’ नेपालको एयरपोर्टको सुधार गरेर बढीभन्दा बढी पर्यटक ल्याउनुपर्ने उनको भनाई थियो ।

चौथो अधिबेशनले उमेश अधिकारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा लोकबहादुर थापा, सचिवमा राजकुमार राययादव, कोषाध्यक्षमा हेमन्त गौतमलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बयानसिंह राई, रञ्जनराज ढुंगाना, रवि चापागाई, कुमार गिरी र बासु भण्डारी चयन भएका छन् । जिफन्ट प्रतिनिधिमा रुपनारायण ढुंगाना चयन भएका छन् ।