– भक्तराज रसाइली

काठमाण्डौ । मारवाडी घरानियाबाट चलाइएको ब्रोकर नं. ३९ अर्थात् सुमेरु सेक्युरिटिज प्रालि काठमाण्डौको हात्तीसारमा अवस्थित छ । निकट भविष्यमै ज्ञानेश्वरस्थित जर्मन दूतावासनजिकै आफ्नै कार्यालयमा सर्न लागेको सुमेरु सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, बिनु अग्रवाल । 

कम्पनीको मेनेजर भने सुनिल श्रेष्ठ हुन् । कम्पनीको लगानीमा अधिक हिस्सा ओगटेका प्रमोटरका रूपमा प्रेमकुमार अग्रवाल छन् । 

प्रेमकुमार अग्रवाल काठमाण्डौ कालोपुलका बासिन्दा हुन् । मारवाडी सेवा समितिमा सचिव र रग्बी फुटबलमा जिल्ला सभापतिमा सक्रिय अग्रवाल आयात व्यापारमा समेत संलग्न छन् । 

पारिवारिक माहौल र आफ्नो स्वइच्छाले ब्रोकर कम्पनीमा हात हालेका अग्रवाल जातीय पृष्ठभूमि र राम्रो व्यापारिक क्षेत्र ब्रोकरेज कम्पनी भएको अनुभूत भएर नै पूँजी बजारसँग जोडिएको बताउँछन् ।

नेपाल धितोपत्र बोर्डबाट ब्रोकर कम्पनीका रुपमा २०६८ साल असार ३२ गते अनमति पाएको कम्पनीमा ६ जना प्रमोटर छन् । 

कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ । नेटवर्थ ५ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीमा हाल कुल २१ जना कर्मचारी कार्यरत छन् । 

कम्पनीको उपत्यका बाहिर बिर्तामोडस्थित कृषिथोक चोकमा शाखा कार्यालय छ । सुमेरुले डीपीसेवा भने दमक र बिर्तामोडबाट पनि दिँदै आएको छ । कार्यालय समयको हकमा भने बिहान १० बजेदेखि साढे ५ बजेसम्म सेवा दिँदै आएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल १९५ कम्पनीका ९५ करोड ९९ लाख रुपैयाँ खरिद र १ अर्ब ४ करोड २३ लाख रुपैयाँबराबरको कारोबार गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले कुल २ सय १३ कम्पनीका २ अर्ब १८ करोड ९० लाख  रुपैयाँ र बिक्रीतर्फ २ अर्ब ४१ करोड ८० लाख रुपैयाँबराबरको कारोबार गरेको जानकारी दिएको छ ।

सुमेरुले २०७२ जेठ २८ गते सीडीएससीबाट डीपी सेवाको अनुमति पाएको हो । कम्पनीका अनुसार हाल ११ हजार ९८१ व्यक्तिगत डिम्याट र १०५ संस्थागत डिम्याट खाता खोलिएका छन् ।

दैनिक ४० जना सेवाग्राही उपस्थित हुने सुमेरुमा औसतमा दैनिक २ सयजनाले सेयर कारोबार गर्ने गरेका छन् । संस्थागत लगानीकर्ताको हकमा भने ५० जना छन् । कम्पनीका अनुसार ३० हजार १०२ केवाईसी खाता अपडेट छन् ।

कारोबार रकमको हिसाबमा मध्यम ब्रोकरको परिचय दिन रुचाउने अग्रवालले अनुशासन र भुक्तानी सहजतामा अब्बल नै बलियो पक्ष भएको तर्क पेस गरे । आफूलाई उत्कृष्टमा राख्ने हरदम कोसिसमा प्रयत्नरत अग्रवालले सेयर ब्रोकरले अक्सन मार्केट, बुक डिलर र  एड्भाइजरी सेवा अविलम्ब पाउनुपर्ने माग राखे ।

अग्रवालको सुमेरु सेक्युरिटीजमा खरिदबिक्रीमा सहजतासँगै सहज वातावरण र सबैलाई समान व्यवहार गर्ने गरेको बताउँछन् । प्राइम लोकसनमा रहेको कम्पनीमा यथेष्ट पार्किङको व्यवस्था रहेको छ ।

ठूलो मात्रामा सेयर खरिदबिक्री सहजै गर्न सकिने दाबी गरेका अग्रवालले सेयर लगानीकर्ताहरूको फलो र होम डेलिभरीको सुविधा उपभोगका लागि पनि सुमेरुमा सेवा लिन आग्रह गरे ।

नियामक निकायहरुको सुस्त गतिका कारणले नै पूँजी बजारको विकास र विस्तारमा अवरोध भएको उल्लेख गर्दै अग्रवालले सम्बन्धि निकायमा दूरदर्शिताको अभावसमेत रहेको औंल्याए ।

नेपालको पूँजीबजार भर्खरै घस्रँदै गरेको अवस्थामा रहेको तर्क पेस गर्दै अग्रवालले सेयर सचेतनाको खडेरी रहेको दाबी गरे । ब्रोकरहरुले पनि ब्रोकरेज सेवाको विज्ञापन गर्न पाए बजार विकास र विस्तार हुने अग्रवालको बुझाइ छ । नियामकले समेत व्यापक प्रचारप्रसारमार्फत नयाँ–नयाँ लगानीकर्तालाई सेयर बजार प्रवेश गराउन पहल गर्नपर्ने अग्रवालले धारणा राखे ।

नियामक र सेयर बजार सरोकारवालाबीच सहकार्य र हातेमालो आवश्यक रहेको बताउँदै अग्रवाल भन्छन्, ‘ब्रोकरहरुको दायरा बढाउन जरुरी छ ।’

ब्रोकरहरुलाई पूँजीबजारका सम्बन्धमा बृहत् प्रशिक्षण आवश्यक रहेको र विदेशमा छुट्टै प्रशिक्षण केन्द्रसमेत रहेको अग्रवालले जिकिर गरे । सही मार्गदर्शनको अभावमा लगानीकर्ताहरु नराम्रा कम्पनीहरुको सेयर खरिद गर्ने प्रचलन रहेको भन्दै अग्रवालले ब्रोकरलाई अविलम्ब परामर्शदाताका रुपमा क्षेत्राधिकार बढाए बजार विकासमा कोशेढुंगा साबित हुने बताउँछन् । 

पूँजी बजार सूचनाको व्यापार भएको जिकिर गर्दै अग्रवालले सूचना छिटोछरितो र सबै लगानीकर्ता समान पहुँच हुनुपर्नेमा जोड दिए। ब्रोकरहरुको वेबसाइटमा सीमित विषयहरुमात्र राख्न पाइने व्यवस्था रहेको तर यसलाई नियामकले मापदण्ड बढाएर लैजानुपर्नेमा अग्रवाल जोड दिन्छन् ।

लगानीकर्ताका आँखामा सुमेरु सेक्युरिटिज प्रालि

तुलसी बराल (५३ वर्ष), पूर्वजागिरे, कलंकी

विगत १२ वर्षदेखि सेयर बजारमा सक्रिय रहेकोमा मैले सुमेरुबाट काम गर्न थालेको यसको स्थापनाकालदेखि नै हो । यहाँको सेवाहरु ठीक र सन्तोषजनक नै छन् । म १० नम्बरमा ९ नम्बर दिन्छु ।

रुद्र बिमली (५५ वर्ष), पूर्वट्राभल एजेन्सी सञ्चालक, मालीगाउँ

म १० वर्षदेखि सेयरबजारमा छु तर मैले यहाँबाट कारोबार गर्न थालेको ४ वर्ष भयो । यहाँ सबै राम्रै छ । सुविधाहरु पनि राम्रा छन् । यहाँ कर्मचारी मित्रवत, आत्मीय तथा वातावरण रहेकोमा म धेरै खुशी छु । मैले १० नम्बरमा ९ नम्बर दिन चाहन्छु ।

दुर्गाप्रसाद गौतम (५२ वर्ष), पूर्वव्यापारी, बालुवाटार

म पनि १ दशकदेखि पुँजीबजारमा रहेकोमा मैले यहाँबाट कारोबार गरेको स्थापनाकालदेखि नै हो । सहजपूर्ण वातारण भए पनि शौचालयमा सफासुग्घरको अभाव छ । म चाहिँ १० नम्बरमा ९ नम्बर दिन्छु ।

यादव पुडासैनी (४४ वर्ष), पूर्वजागिरे, गोकर्णेश्वर

म सेयर बजारमा विगत १५ वर्षदेखि जोडिएको हुँ । स्थापनाकालदेखि नै मैले यहाँबाट सेयर कारोबार गर्र्दै आइरहेको छु । समग्रमा राम्रो छ र म यहाँको सेवासुविधाबाट सन्तुष्टसमेत छु । निकट समयमा सुरु हुने मार्जिन कारोबार सुविधा यहीँबाट लिन पाए हुन्थ्यो । म १० नम्बरमा ९ नम्बर दिन्छु ।

रामबाबु  सिलवाल, (५१ वर्ष), पूर्वव्यापारी, कलंकी

म १२ वर्षदेखि सेयरबजारमा आबद्धता रहेकोमा यहाँको म स्थापनाकालदेखिकै सेवाग्राही हुँु । यहाँ जाडोमा तातोपानी र गर्मीमा चिसो पानीको व्यवस्था हुन जरुरी रहेको ठान्दछु साथै पिकनिकले पनि निरन्तरता पाओस् । म १० नम्बरमध्ये ९ नम्बर दिन्छु ।

महेन्द्र चुडाँल (४३ वर्ष), इन्जिनियर, बानेश्वर

सेयर बजारको निकटता मेरो १२ वर्षदेखि हो भने यहाँ म स्थापनाकालदेखिकै सेवाग्राहीसमेत हुँ । सबै ठीकै छ, राम्रै छ । भौतिक सेवासुविधामा सुधार होस् भन्ने आग्रह छ । म १० नम्बरमध्ये ८ नम्बर दिन्छु ।

विमल पाण्डे (४५ वर्ष)

करिब २ दशक देखिको मेरो सेयर बजारको यात्रामा मैले यहाँबाट कारोबार गर्न थालेको स्थापनाकालदेखि नै हो । सेवाहरु राम्रै छन् । एकजना आईटीका कर्मचारी भए वाईफाई र फ्लोरको डिस्प्लेमा सहजता हुन्थ्यो । ब्रोकरसँग भेट्न यहाँ सहज पनि छ र प्रतिक्रिया राम्रो छ । म १० नम्बरमा ९ नम्बर दिन्छु ।

दीप थापा (४० वर्ष), सेयर लगानीकर्ता, बालाजु

म सेयर बजारमा संलग्न र यहाँबाट कारोबार गरेको ९ वर्ष भयो । पारिवारिक वातावरणका कारणले मलाई राम्रो लाग्छ । व्यवस्थापनले थप सेवासुविधा थप्न आग्रह गर्दछु । म १० नम्बरमा साढे ९ नम्बर दिन्छु।

लक्ष्मणबहादुर श्रेष्ठ (५२ वर्ष), पूर्वव्यापारी, डिल्लीबजार

म सेयर मार्केटमा ३४ वर्षदेखि सक्रिय छु भने यस कम्पनीकै पहिलो ग्राहक नै म हुँ । यहाँको सबै सेवासुविधा राम्रा छन् यद्यपि पत्रपत्रिका पनि भए बेस हुन्थ्यो ।