नयाँदिल्ली । मारुती सुजुकी इण्डियाले बुधबार सुरक्षा विशेषताका साथ आफ्नो ह्याचब्याक कार इग्निसको २०१९ संस्करणलाई सार्वजनिक गरेको छ। 

भारतीय सोरुमहरुमा यो कारको मूल्य ४.७९ लाखदेखि ७.१४ लाख भारुसम्म पर्ने जनाइएको छ । 

नयाँ इग्निसमा चालक भएको सिटमा सिट बेल्ट रिमाइन्डर र हाई स्पीड अलर्ट सिस्टम जडान गरिएको छ । रिभर्स पार्किङ प्रणाली सिस्टम लगायत अन्य विशेषता समेत थपिएको छ । 

भारतमा लागू भएको नयाँ सवारी सुरक्षा नियमअन्तर्गत २०१९ को जुलाई १ बाट भारतीय सडकमा कुद्ने यात्रुबाहक साधनमा यस्ता विशेषता हुनुपर्नेछ ।

मारुती सुजुकी इण्डियाको वितरण तथा बिक्रीतर्फका वरिष्ठ कार्यकारी निर्देशक आरएसी कल्सीले यात्रीहरुको सुरक्षाको विषयमा संवेदनशील भई मारुती इग्निसको नयाँ संस्करणमा कैयन फिचर्स थपिएको बताए ।

मिडिया रिपोर्टमा भनिएअनुसार नयाँ इग्निसमा १.२ लिटरवाला के १२(टुभेल) पेट्रोल इञ्जिन दिइएको छ । यो इञ्जिन मारुतीकै वेगनआर, स्वीफ्ट र बलेनोमा समेत छ । 

नयाँ इग्निसमा ११९७ सीसीका चार सिलिण्डर इञ्जिनले ११३ एनएममा टर्क जेनेरेट गर्नेछ । यसमा फाइभ स्पीड म्यानुअल गियरबक्स राखिएको छ । 

पुरानो इग्निसको तुलनामा नयाँ मोडल १२ देखि १५ हजार भारुसम्म महंगो पर्नसक्ने समाचारमा जनाइएको छ ।