काठमाण्डौ । भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले नयाँ वर्ष २०२० को सुरुआतसँगै आफ्नो सबै मोडलका कारको मूल्य बढाउने भएको छ ।

कम्पनीले इनपुट लागत बढेका कारण कारहरुको मूल्य पनि बढाउने निर्णय लिनुपरेको स्पष्ट पारेको छ ।

मारुती सुजुकीले गत सेप्टेम्बर २५ आफ्ना केही मोडल अल्टो ८००, अल्टो के१०, स्विफ्ट, सेलेरियो, बलेनो डिजेल, इग्निस, डिजायर डिजेल, बिटारा ब्रेजाको मूल्यमा भारु ५ हजार कम गरेको थियो । त्यतिखेर भारतको केन्द्रीय सरकारले कर्पोरेट ट्याक्समा कटौती गरेर गाडी निर्माता कम्पनीहरुलाई राहात दिएका कारण मारुतीले पनि आफ्ना केही मोडेलका कारको मूल्य घटाएको थियो ।

त्यसो त मारुती सुजुकीको मूल्य कटौतीको फाइदा अक्टोबरको फेस्टिभल सिजनमा भएको बिक्रीबाट देखियो । अक्टोबर महिनामा अन्य कम्पनीको तुलनामा यो कम्पनीका गाडीहरुको बिक्रीले रेकर्ड कायम गरेको थियो । तर यो रेकर्ड महिना दिन नबित्दै खस्किन थाल्यो र नोभेम्बरदेखि आएर गाडी बिक्रीमा गिरावट आउन थाल्यो । – एजेन्सी