काठमाण्डौ । ‘नखाउ भने दिनभरिको शिकार, खाउ भने कान्छा बाउको अनुहार’, सेयर बजारका लगानीकर्ताले अहिले ठ्याक्कै यस्तै नियति भोगिरहेका छन् । बजार घटेर न्यून विन्दूमा झरेको बेला आफूले ऋण काँडेर महङ्गो दरमा खरीद गरेको सेयर बिक्री गरिहाल्ने अवस्था पनि छैन, तर बिक्री नगरे बैंकहरुबाट तारन्तार आउने मार्जिन कलले बसिखान दिने अवस्था समेत छैन । यहीकारण लामो समयदेखि बैंकको ब्याज तिर्दै बजार बढ्ने आशामा सेयर होल्ड गरेर बसेका लगानीकर्ताहरुले समेत सेयर बेच्न थालेका छन् । मार्जिन कलकै त्रासका कारण बजारमा लामो समयसम्म टिक्ने रणनीतिले चूपचाप बसेका लगानीकर्ताले समेत बिक्रीमा मन लगाएपछि बजार निरन्तर घटिरहेको छ । लगानीकर्ताको यही अवस्थाका कारण निरन्तर घट्दो बजार मंगलबार वर्षभरिकै न्यून विन्दूमा झरेको छ ।

यो दिन बजार परिसूचक १५.०५ अंकले घटेर १२५५.४७ विन्दूमा सीमित बन्न पुुगेको हो । कारोबार रकम भने सोमबारको तुलनामा केही बढेको छ । 

कारोबार रकममा सुधारको संकेत देखिए पनि परिसूचक भने दोहोरो अंकले घट्नुुले सुखद संकेत दिंदैन । 

लगानीकर्तासँग सम्बन्धित संघसंस्थाले लामो समयदेखि सरोकारवाला निकायहरुलाई बजार सुधारका लागि विभिन्न माग राखेर कर्मकाण्ड पूरा गर्दै आएका छन् । उनीहरुको मागको समयमै सम्बोधन नगरिँदा र बजारलाई गम्भीर रुपमा नलिइँदा लगानीकर्ताले दैनिक करोडौं गुमाइरहेका छन् । यस्तो अवस्थामा लगानीकर्ताको हितका लागि भनी पसलजस्तै खुलेका संघसंस्थाहरुको भूमिका समेत प्रभावकारी हुन नसकेको देखिन्छ । 

मंगलबार के–के भयो ?
यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा बिक्रीको चाप ह्वात्तै बढेको देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.०४ अंकले घटेको छ । 

यो दिन होटल समूह १७.७९ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । बैकिङ समूह ९.७९ अंकले घटेको छ भने बिमा, विकास बैंक, बित्त र माइक्रोफाइनान्स समूहमा क्रमशः १५२.१८, १५.२३, ८.९७ र २०.३६ अंकको गिरावट देखियो । जलविद्युत समूह २०.४५ अंक, उत्पादनमूलक ४३.५७ अंक र अन्य समूह ७.०८ अंकले घटे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले घट्यो । सिन्धुु विकास बैंकको मूल्य पनि ६ प्रतिशतकै हाराहारीमा घट्न पुुग्यो ।