काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुका लागि ब्याजदरमा नेपाल राष्ट्रबैंकले भद्र सहमति कायम गराएको छ । तर, धितोपत्र बोर्डले भने ब्रोकरहरुलाई मार्जिन कारोबारको सुविधा प्रदान गर्दै ब्याजदर निर्धारणको काम पनि उनीहरुलाई नै छाडिदिएको छ । 

यसको अर्थ सेयर धितो राखेर कर्जा लिनका लागि अब बैंक तथा बित्तीय संस्था धाउनुपर्ने छैन । सेयर लगानीकर्ताले ब्रोकर कार्यालयहरुबाटै यस्तो सुविधा पाउनेछन् । 

धितोपत्र बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याइएको प्रष्ट्याएको हो । 

बोर्डले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए अनुसार हुने व्यवस्था गरेको छ । 

तर, दलालले मार्जिन कारोवार सुविधा उपलब्ध गराएबापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउनुपर्नेछ । 

मार्जिन कारोबारको सुविधा लागू गर्नुअघि यो विषयमा लगानीकर्तालाई नेप्सेले सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने र ब्रोकरमार्फत समेत यस्तो कार्यक्रम संचालन गराउने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । 

मार्जिन कारोवार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेप्सेले नियमित र सघन रुपमा सुपरीवेक्षण/अनुगमन गर्नुपर्नेछ । 

मार्जिन कारोवार सुविधा अभ्यासमा आएपश्चात धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप(इन्र्टभेन्सन) तथा नियमन/सुपरिवेक्षण गर्ने समेत व्यवस्था गरिएको छ ।  

यसका साथै वोर्डको मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ र नेप्सेले वनाएको मार्जिन कारोवार सुविधा सम्वन्धी कार्यविधि, २०७५ सहित मार्जिन कारोवार सुविधा सम्वन्धमा वोर्डले गरेका व्यवस्था बारे नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकिएको बोर्डले जनाएको छ । 

मार्जिन कारोबारको सुविधाले धितोपत्र व्यवसायको कार्य दायरा विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँ (वन स्पट)बाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र बजारको विकास  हुने बोर्डको अपेक्षा छ ।